काठमाडौँ — सर्वोच्च अदालतले सिंहदरबारबाट नउठाइएको फोहोर ३ दिनभित्र उठाई बिसर्जन गर्न काठमाडौं महानगरपालिकाको नाममा आदेश जारी गरेको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न महानगरपालिकाका नाममा आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले गरेको आदेशमा भनिएको छ, ‘रिट निवेदकले उल्लेख गरेको स्थानको फोहोरहरु आदेश प्राप्त भएको मितिले ३ दिनभित्र संकलन गरी उठाई विसर्जनसमेत अविलम्ब गर्नू, गराउनू भनी काठमाडौं महानगरपालिकाको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ । संविधानका अनुसूचीमा भएका प्रावधान र प्रचलित कानून अनुसार सरसफाई, फोहोर व्यवस्थापनको काम स्थानीय तहको जिम्मेवारीमा रहेको भन्दै सर्वोच्च अदालतले सिंहदरबारको फोहोर संकलन गरी विसर्जन गर्नुपर्ने दायित्व काठमाडौं महानगरपालिकाको हुने भन्दै ध्यानाकर्षण गराएको हो ।
प्रतिक्रिया