Breaking

रविको जित पक्का, रोक्नलाई मिल्लान् चितवनमा कांग्रेस एमाले ? कस्तो छ अंक गणित ?


काठमाडौँ — मौन अवधि सुरु हुने पूर्व सन्ध्यामा उपनिर्वाचनको इपी सेन्टर बनेको चितवनमा सत्तारुढ गठबन्धन र रास्वपाले आम चुनावी सभा गरेका छन् । चुनावलाई नै ठूलो प्रभाव पार्ने आम सभाले दलको हैसियत छुट्याएको छ । बिहीबार मध्यराति १२ बजेपछि मौन अवधि सुरु हुने भएसँगै उपनिर्वाचनमा होमिएका शीर्ष दलहरुले आज चुनावी आम सभा गरेका छन् । तीन जिल्लामा हुने उपनिर्वाचनको ‘ईपी सेन्टर’ बनेको चितवनमा सत्ता गठबन्धन र उर्लिदो भेलको रुपमा हेरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी आम सभा गरे ।

गठबन्धनको सभालाई वर्तमान प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री शेरबहादर देउवा, माधवकुमार नेपाल र बाबुराम भट्टराईले सम्बोधन गर्दा वारपारको भिडन्त भन्दै रास्वपा सभापति रवि लामिछानेसहित पार्टीका पुरै सांसदको सभामा उपस्थिति रह्यो । रास्वपा गत निर्वाचनमा प्राप्त मत जोगाउदै पुरानै कायम राख्न प्रयासरत छ । पछिल्लो समय भएका राजनीतिक घटनाक्रमबाट पार्टी र उम्मेदवारलाई क्षति नहोस् भन्ने उद्देश्य अनुसार रास्वपा रक्षात्मक रणनीतिमा देखिन्छ । त्यस्तै पुराना राजनीतिक दलहरु रवि हराउन लागेको छ भन्ने आम मतदाताको सहानूभुति पनि रविलाई रहेको छ ।

प्रधानमन्त्रीले नै भ्रष्टाचारको आरोप लगाईरहँदा पुष्टी गर्न भन्दै चुनौती दिएका छन् । जतिसुकै घराबन्दीमा पारे पनि जनताले त्यसलाई स्वीकार नगर्ने रविको तर्क छ । चितवनमा रास्वपा बलियो देखिएपछि केन्द्रमा धुम्बाहारी देखि बालकोटसम्मको निन्द्रा हराम भएको थियो । जसका कारण मध्यरातमा हुन खोजेको कांग्रेस र एमालेको गठबन्धन अन्तिम समयमा तुहियो । कांग्रेस एमालेको गठबन्धन सम्भव नहुने भएपछि कांग्रेसका जित नारायण श्रेष्ठलाई जिताउन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै मैदानमा उत्रिएका छन् ।

रुख चिह्न पनि माओवादीको साझा चुनाव चिह्न भईसकेको भन्दै माओवादी कार्यकर्तालाई रुखमा छाप लगाउन भाषण दिन थालेका छन् । प्रधानमन्त्रीसँगै भरतपुर महानगरपालिकाका मेयर प्रचण्ड पुत्री रेणु दाहाल र तीन पूर्वप्रधानमन्त्रीको उपस्थितिले श्रेष्ठलाई आश पलाएको छ । स्थानीयको मुल मुद्धा उठाएको गठबन्धनले प्रचारप्रसारको अन्तिम दिनमा आफ्नो पक्षमा माहोल बनाउने प्रयास गरेको छ ।

लगातार २ पटकको चुनाव जितेको एमालेले पनि त्यस क्षेत्रमा गुमेको विरासत फर्काउन पार्टीलाई संगठित गर्न प्रयासरत छ । एमालेको गढ मानिएको चितवन २ को मत बाहिर जान नदिन पार्टीले ठूलो कसरत गरिरहेको छ । उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई, पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटा लगायतलाई चितवनमा उतारेको एमालेको प्रतिष्पर्धी पनि रास्वपा नै बनेको छ । यसअघिका चुनावमा कांग्रेस र एमालेका उम्मेदवारले एक अर्कालाई गाली गलौज गर्दै चुनावी अभियान गर्ने भएता पनि यो उपनिर्वाचनमा भने यी दुई पार्टीबीच त्यस्तो केही देखिएको छैन ।

कांग्रेस र एमालेबीच को दोस्रो हुने भन्नेमा प्रतिष्पर्धा हुने र शिलशिलेबार घटनाक्रमको फाइदा उठाउँदै रविले नै चुनाव जित्ने विश्लेषकको बुझाई छ । पाँच महिनाअघि सम्पन्न निर्वाचनमा लामिछानेले कांग्रेस उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार २ सय ८१ को भारी मतान्तरले पराजित गरेका थिए । रवि, श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेल भिड्दा लामिछाने ४९ हजार दुई सय ६४ मत ल्याएर विजयी भएका थिए ।

श्रेष्ठले १४ हजार नौ सय ८३ मत प्राप्त गरेका थिए भने एमालेका पोखरेलले १४ हजार ६ सय ४७ मत ल्याएका थिए । माओवादी, नेकपा एकीकृत समाजवादीलगायत सत्ता गठबन्धनमा आबद्ध दलको साथले मंसिर ४ को हारको बदला लिन कांग्रेसले सबै शक्ति लगाइरहेको छ । एमालेले पनि स्थानीयलाई नै उम्मेदवार बनाउँदा भुगोलले न्याय गर्नेमा विश्वस्त छ । तर, आम सभा निर्वाचन क्षेत्रको माहोल र विश्लेषकको भनाईलाई आधार मान्दा यसपटक पनि रवि दुवै दलका लागि ग्रहण बन्ने देखिन्छ ।