Breaking

उपेन्द्रलाई रोक्दै सीके,अरुको भिडन्तमा एमालेको जित, खोई बारामा स्वतन्त्रको क्रेज ?


काठमाडौँ — देशैभरको मौसमी तापक्रम बढ्ने क्रममा छ । त्यसै पनि मौसमी हिसाबले उच्च हुने तराईको तापक्रम उपनिर्वाचनको मिति नजिकिँदै गर्दा झन् गर्मराउँदै गएको छ । मौन अवधि सुरु हुन केही घण्टामात्रै बाँकी रहँदा पार्टीहरुले गरेको आम सभाले चुनावी माहोल तातिँदो छ । बारा २ बाट भाग्य परीक्षणमा उत्रेका आफूलाई संघियताका हिमायती सम्झिने जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई जिताउन प्रधानमन्त्री पुष्पकमल दाहालसहित तीन पूर्व प्रधानमन्त्री बारा पुगेर चुनावी आम सभालाई सम्बोधन गरेका छन् ।

सप्तरी २ बाट पराजित भए पनि पुनः संसद् प्रवेशका लागि बारालाई सिढी बनाउन लागेका उपेन्द्रको संगठन बलियो भए पनि उनलाई बाहिरीयाको ट्याग लाग्ने गरेको छ । मधेशीहरुको अधिकारका लागि लडेको भन्दै यादवको उम्मेदवारीलाई मधेशकै राजनीतिसँग जोडेर मत रिझाइरहेका छन् । यादवको चुनाव जित्ने ब्रह्मास्त्र क्षेत्रीय राजनीति भएको र त्यसमा गठबन्धनले पनि साथ दिँदा यादव राहतमा छन् ।

विभिन्न जिल्ला र ठाउँबाट पटक–पटक हारेर जनताले अस्वीकार गरेकालाई बारा २ का मतदाताले स्वीकार गर्न नसक्ने भन्दै जनतामा गएको नेकपा एमालेका पुरुषोत्तम पौडेलले पार्टीका शीर्ष नेतृत्वलाई नै बारामा उतारेर संगठनकै बलमा जित निकाल्ने दाउमा छन् । तीन निर्वाचन क्षेत्रमध्ये पार्टीले आश गरेको बारामा उपेन्द्र र सीकेको टकराव र स्वतन्त्र र आम जनता पार्टीले मत काट्दा आफु जित्ने अंक गणित निकालेर बसेको छ । क्षेत्रीय राजनीति गर्दै आएका र नयाँ दलको मत जोगाउन चुनौती देखेका एमाले गठबन्धनले जिते दिँदै आएको वृद्धभत्ता पनि काट्ने र प्रहरीले कपडा फेर्न पनि नपाउने भन्दै आफ्ना उम्मेदवारका लागि भोट मागेका छन् ।

प्रहरीका पूर्व डीआईजी रमेश खरेल पर्सामा हुँदा त्यहाँ बनाएको छविका कारण पनि बारामा परिचित छन् । आफ्नो कर्म क्षेत्रमा हुँदा तराईमा सकारात्मक छाप छोडेका र केन्द्रबाट गएका सांसदले बनाएको माहोल उनका लागि बलियो पक्ष बनेको छ । यसका साथै, रास्वपाले देशैभर ल्याएको लहरको हावाले पनि बारालाई छुँदा जित्ने आधार मान्दै आएको छ । विगतमा जितेर गएका सांसदले निराश बनाएका जनतालाई रास्वपा एक विकल्प हुन सक्नेसम्भावनाले पनि खरेलको जित्ने आधार बनेको छ ।

बारा २ का उम्मेदवार शिवचन्द्र कुशवाह पूर्व माओवादी भएकै कारण पनि उनलाई माओवादीको भोट आउने अपेक्षा छ । त्यसबाहेक मधेशमा उपेन्द्रको विरासतलाई तोड्दै उदाएको जनमत पार्टीको जित्ने आधार तराईमा बढ्दो सीके राउतको लोकप्रियता नै हो । क्षेत्रीय राजनीतिबाटै उदाएको जनमत त्यसैलाई उपयोग गर्दै चुनावी अभियानमा जोडिएका थिए । उम्मेदवार भन्दा पनि बढी राउतकै प्रचार गरेको पार्टीले जन लहर पनि राम्रै बनाएको छ । एक लाख ५ हजारभन्दा धेरै मतदाता रहेको त्यहाँ यादव समुदायको मात्र झन्डै ३८ हजार मतदाता छन् ।

जातीयताका कारण पनि मत प्रभावित हुने त्यस क्षेत्रमागत निर्वाचनमा ६२ हजार मत खसेको थियो।यो क्षेत्रमा जसपापछि सांगठनिक रुपमा कांग्रेस र एमाले बलियो रहेको गत निर्वाचनको समानुपातिक मतले देखाएको छ । उपेन्द्रलाई गठबन्धनको साथ, जनमतको बड्दो लोकप्रियता, स्थानीय पुरुषोत्तम अनि देशैभर रास्वपाले ल्याएको लहर बारा २ को उप निर्वाचनमा छ । तर, माओवादी, एकीकृत समाजवादीले आफ्नो उम्मेदवार नउठाएकोले गर्दा पनि त्यो मत निर्णायक हुने देखिन्छ । मौन अवधिमा तराईमा हुने गतिविधि र चलखेलेले पनि बारा २ को मत नतिजामा फरक पर्ने देखिन्छ ।