Breaking

रास्वपाले पनि आज चितवनमा चुनावी आमसभा गर्दै


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आज चितवनमा चुनावीसभा गर्दैछ ।

रास्वपाका अनुसार दिउँसो ३ बजे जिल्ला प्रहरी कार्यालय अगाडि चुनावी सभा आयोजना गर्न लागिएको हो । सभालाई चितवन–२ का उम्मेदवार तथा पार्टी सभापति रवि लामिछाने, रास्वपाबाट तनहुँ-१ का उम्मेदवार स्वर्णिम वाग्ले र बारा-२ का उम्मेदवार रमेश खरेलले सम्बोधन गर्ने बताइएको छ ।

चितवनमा आजै सत्ता गठबन्धनले पनि चुनावी सभा गर्दै छ । उसले पनि दिउँसो ३ बजे नै कालिका नगरपालिका ४ पदमपुरस्थित क्याम्पस फुटबल मैदानमा आमसभा आयोजना गर्ने भएको हो । आमसभालाई माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गर्दै छन् । साथै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेता शेखर कोइराला पनि सहभागी हुँदै छन् ।

चितवन-२ मा मुख्य रुपमा रास्वपा, नेपाली कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै छ । यहाँ रास्वपाबाट सभापति रवि लामिछाने, कांग्रेसबाट निवर्तमान जिल्ला (चितवन) सभापति जितनारायण श्रेष्ठ र एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।