समाचार

बाँकेका दुई स्थानमा १० घर जले


काठमाडौँ – राप्तीपारी क्षेत्रअन्तर्गत नरैनापुर गाउँपालिकाको छुट्टाछुट्टै दुई स्थानमा भएको आगलागीमा १० घर जलेका छन् ।

आगलागीबाट २५ लाख रुपैयाँको क्षति भएको प्रहरीको अनुमान छ । बुधबार साँझ नरैनापुर गाउँपालिका–३ गेग्ली गाउँमा आगलागी हुँदा पाँच घर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए। उनका अनुसार दुई वटा घरमा आंशिक क्षति पुगेको छ ।

यसैगरी नरैनापुर गाउँपालिका–३ को जनतापुरमा आगलागी हुँदा तीन घर र एक गोठमा क्षति पुगेको छ । त्यहाँ करिब १५ लाख रुपैयाँको क्षति भएको छ । करिब डेढ दुई घण्टाको फरकमा दुई स्थानमा भएको आगलागी स्थानीय र प्रहरीको संयुक्त प्रयासबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रायमाझीले बताए ।

गर्मीको मौसममा नरैनापुर क्षेत्र आगलागीको उच्च जोखिममा पर्ने गरेको छ ।