काठमाडौँ – आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ ।
हिन्दु परम्पराअनुसार मातातीर्थ औँसीका दिन जीवित आमालाई खानेकुरा र लुगाफाटो दिएर सम्मान गरिन्छ । दिवंगत आमाको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गरिन्छ । यो पर्व बौद्ध धर्म मान्नेहरूले खासै मनाउँदैनन् । तर, जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्नु कुनै व्यक्ति, समाज र धर्मले कसैलाई रोक्दैन ।
आजभोलि व्यवहारमा जस्तो गरे पनि सामाजिक सञ्जाल एक दिन आमालाई शुभकामना दिनेको लर्को लाग्छ । आमालाई एक दिन मात्रै होइन सधैँभरि सम्झिन जरुरी छ । सधैँ सम्मान गर्न जरूरी छ ।
आमाको सम्झनामा लेखेको पत्र
आमा !
मेरो हातमा घडी छैन तर, हरेक पल तपाईँले मेरो समय भनिदिनु भएको छ । बिहानीको किरणदेखि मध्यरातको निद्रामा पनि सपनी सजाउन आउनु हुन्छ ।
तपाईँलाई सपनीमा पाएर म कुर्सीमा विराजमान नेताभन्दा बढी खुशी हुने गर्छु, आमा ! आजभोलि एउटा प्रश्न चर्चाको शिखरमा छ । त्यो थाहै होला तपाईँलाई पनि आमा । आखिर धनविनाको मन र मनविनाको धन कुन ठूलो हो भनेर छुट्याउने कुनै वस्तु बनेकै छैन, मेरो आमा ।
जुन आँखाले हामी हेर्छौँ, त्यहाँ त्यही ठूलो हुँदोरहेछ आमा, चाहे मन होस् या धन । हामीले इष्र्याको चश्मा लगाएर हेर्ने गरेकाले मात्र छुट्याउन नसकेको रहेछ आमा । हामी जाडो भए त्यही घाम प्यारो सोच्छौँ र गर्मीमा त्यसलाई दोष दिन कुनै कसर बाँकी राख्दैनौँ । अब भनौँ त ठूलो के आमा ? एउटै कुरा समय र परिवेशले हामी फरक तरिकाले हेर्छौँ भने ठूलो र सानो किन भन्ने है आमा !
शत्रु कमाउने धन कहिल्यै ठूलो हुँदैन तर, मित्र कमाउने मनलाई यसले कहिल्यै ठूलो हुन पनि दिएन आमा । त्यसैले म द्विविधामा छु मेरो आमा । अन्तर्मनको यात्रामा निस्किएको तपाईँंको छोरामा भ्रमको बादल फुट्नेछ अनि मात्र सत्यको झरी दर्किन्छ र सबैले प्रेमको सही शीतलता महसुस गर्नेछन् आमा । म त्यही क्षणको प्रतीक्षामा छु । धैर्य गर्न सक्यौँ भने बचेको जिन्दगी रमाउन सकिन्छ आमा । होइन भने त न आज सहज हुन्छ न भोलिको समय उज्यालो ।
आमा तपाईँको माया त मैले बुझेकै हुँ तर, आफूले जति गर्नुपर्ने थियो त्यति गर्न सकेको थिइनँ । तर, आज मायाको भण्डारमा लाएको साँचो फुटाएर पस्किँदैछु मेरी आमा । यो हावामा मैले आफ्नो आभास मिसाएर पठाएको छु । तपाईँले सुगन्ध महसुस गर्नु हुनेछ । प्रेम सुगन्ध जुन श्वास भएर तपाईँको नसामा रगतका कण हुँदै हृदयमा पुग्नेछ । मलाई विश्वास छ आमा, मेरो प्रेमलाई तपाईँले झुठो महसुस गर्नु हुनेछैन ।
जब वर्षात् सुरु हुन्छ मलाई तपाईँको धेरै याद आउँछ अनि आँखाबाट आँसु झरेको थाहा हुन्न आमा । आज घुम्दै थिएँ, कुनै ठाउँमा । तर, जताजता पुग्थेँ, तपाईँलाई नै भेट्टाउँथे आमा । टाढा हुन त किन दिनुहुन्थ्यो र मलाई ! तपाईँले सपनीमा ‘बिरामी छस् हो छोरा ?’ भन्दा आमा म खुब रोएँको थिएँ । हो, आमा कैयौं वर्ष भइसकेछ शरीरले अस्वस्थ महसुस गरेको तपाईँको यादमा । यो कुरा सुनाएर तपाईँको पिर चिन्ता बढाउन नसेकेरै भन्ने आँट गरिनँ आमा ।
तपाईँ मलाई यति धेरै माया गर्नुहुन्छ, आशीर्वाद दिनुहुन्छ, त्यही भएर आजसम्म हार्न सकेको छैन आमा मैले । तपाईँलाई कहिल्यै मैले ‘आई लभ यू’ आमा भन्न पाइनँ र भनिनँ । तर, मेरो मायाको सागर कहिल्यै कम भएको छैन आमा ।
आमा तपाईँलाई यो पत्र लेखिरहँदा मैले प्रेमका अनेकन् चित्र कोरेँ थाहा छैन तिम्रा बूढा आँखाले देख्छन्दे/ख्दैनन् ? तर, यो पत्र तिम्रो छातीमा राख मेरो मायाको छिटा तपाईँको आँखाबाट पनि बहनेछन् । तर, तपाईँ नरुनु है आमा ।
आज फेरि त्यही तपाईँले मलाई जन्म दिएको गाउँ पुगे ! !
जन्म गाउँमा सबै थियो मैले बालापनमा खेलेको आगन, मैले पढेलेखेका स्कुल, घरमाथि गुराँसको रुख, बाटोमुनिको सिमसार, पल्लो घरको फुपू सबै थिए । थिएन त केबल मलाई जन्मदिने आमा !!
सबै हुँदापनि मलाई खल्लो र अधुरो लागेको छ मेरो जन्म गाउँ !! मेरो मनले तपाईलाई खोजेको छ, आखाले तपाईंलाई हेर्न चाहेको छ । तर, यो सबै असम्भब छ आमा ।
आँखा चिम्म गरेर तपाईंलाई सम्झिँदा तपाईं मेरै वरिपरि हिडिरहेको, घुमिरहेको देख्छु आमा !! तर, जब आँखा खोल्छु नि मेरो सामु अध्यारो बाहेक केही हुँदैन आमा !!
तपाईं सपनी जस्तो विपनामा आउन मिल्दैन आमा ! मिल्छ भने आईदिनु न ! तपाईंलाई अंगालेर एउटा फोटो खिच्न मन छ अनि घरको भित्तामा र मुटुको बीच भागमा तपाईंको फोटो राखेर हेर्न मन छ ।
घरको आँगनको डिलमा काग आएर कराउँदा पनि तपाईंको समाचार आयो भनेर बाहिर निस्केर हेर्ने गर्छु आमा !!
गोठ जाने बाटोमा फुलेको गुराँसको फूलमा कतै तपाईं पनि फुलेको छ कि भनेर हेर्ने गर्छु ! तर, कतै देख्दिनँ । त्यसैले मलाई यो गुरासको फुल देखेर पनि बिरक्त लगेको छ !!
त्यसैले ढकमक्क फुलेको गुरासको फुल पनि कसैको पर्खाइमा बसेको जस्तो लाग्दोरहेछ । पल्लो चौताराबाट कोही आउँदै गरेको देख्दा मलाई तपाई होकि भनेर ज्यादै खुशी लाग्छ । तर, जब नजिक पुग्छन् मेरा खुशीका पोकाहरू फुटेर जान्छ !! त्यो आउने मान्छे आमा त आमा रहेछ तर मेरो होइन अरू कसैको !!
तपाईलाई अन्तिम बिदाइ गरेको ठाउँमा पुग्दा त्यहाँ रहेको रूखहरु पनि तपाईँकै यादमा विरक्तिएर बसेको देख्छु ।
तपाईंलाई अन्तिम बिदाई गरेको ठाउँमा पुग्छु अनि उभिन्छु र बेस्सरी चिच्यार रुन्छु मेरो रुवाईलाई तपाईंले पनि कतैबाट हेरिरहनुभएको थियो होला ।
मागेर मिल्ने भए आफैंलाई चढाएर माग्ने थिए किनेर पाउने भए आफैंलाई बेचेर किने थिए । तर, त्यो पनि सम्भव नहुने रहेछ ।
यो युगमा तपाईं हामी माझ हुनुहुन्न । तर, अको जुनि मिल्छ भने म पुनः तपाईंको छोरा भएर तपाईंकै काखमा र साथमा खुशी साथ जीउन चाहन्छु आमा ।
तपाईंको अन्तिम बिदाईमा कसैको काखमा रुदै गरेको तपाईंको मायाको टुक्रा पनि आज ठुली भइसकी, तपाईंलाई नचाहँदा नचाहँदै पनि बाध्यताले अन्तिम पटक कपाल सुम्सुमाउदै बिदाई गर्ने हातका रेखाहरू चाउरी पर्न थालिसके । प्रत्येक दिन सोच्ने गर्छु– तपाईं कुन रुपमा हुनुहुन्छ होला ? कस्तो अवस्थामा हुनुहुन्छ होला ? आशा छ तपाईं साँच्चै नै सुखी अनि खुसी हुनुहुन्छ होला । किनकि, तपाई भगवानको रोजाइमा परेको मान्छे हो ।
आमा मलाई आशीर्वादको फोहोरा सँधै बर्साइरहनु ता कि म आफ्नो पथबाट विचलित नहुँ । तपाईँले मलाई गाली नगरेको पनि युग बितिसकेछ आमा ।
मलाई दुईचार शब्दले हिर्काइदिनुहोस् ताकि म अझ अघि बढूँ । आमा तपाईँले मलाई सपनीमा भए नि माया अनि केही शब्द भनिदिनुहोस् ताकि भोलिको उज्यालो म तपाईँको काखमा भएको महसुस गर्न पाऊँ । तपाईँको स्पर्श गरेर बिहानीको झिसमिसे उज्यालोलाई पनि इन्द्रेणीको रंगजस्तै सुन्दर बनाउन सकूँ आमा । अनि तपाईँको काखमा मैले भोगेका दुःखलाई छोप्न सकूँ आमा ।
अन्त्यमा, तपाईं मेरो साथमा नभए पनि सत्कर्म गरी तपाईँजस्ता हजारौँ आमाको सदैव आशीर्वाद पाउन सकूँ । आशीर्वाद दिनुहोस् आमा, अर्को जन्ममा पनि म तपाईँको छोरा भएर जन्मिन सकूँ, अनि अनेकौँ मातातीर्थ औँसी तपाईँकै साथमा मनाउन सकूँ ।
जय माता जय मातृभूमि
उही तपाईँको प्यारो,
तपाईँलाई सधैँ आफूभन्दा बढी माया गर्ने
तपाईँको छोरा
मिस यू आमा !
प्रतिक्रिया