काठमाडौँ— प्रतिनिधिसभाका सांसदहरुले राजधानी काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषणलगायत फोहरको समस्या समाधान गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद उदयशमशेर जबराले काठमाडौँ उपत्यकामा वायु प्रदूषण नियन्त्रणका लागि छोटो र दीर्घकालीन समाधानको बाटो खोजिनुपर्ने बताए ।
राजधानी वरपरका वनमा डढेलो र काठमाडौँ उपत्यकामा दुई किमी सडक निर्माण गर्न चार वर्ष लाग्ने गरेकाले पनि वायु प्रदूषण र फोहर बढेको उनको भनाइ थियो । सांसद असिम साहले सवारी चालक अनुमति प्रमाणपत्रलाई व्यवस्थित गरिनुपर्ने बताए । सांसद उर्मिला माझीले महँगो र असमान शिक्षाका कारण भ्रष्टाचार बढेको, वर्षैपिच्छे पुस्तक फेरिँदा समस्या हुने गरेकाले तीन वर्षसम्म नफेर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । सांसद एकनाथ ढकालले यहाँको राहदानीले ३७ देशको मात्र भ्रमण गर्न पाइने भएकाले कूटनीति बलियो बनाउन अनुरोध गरे ।
सांसद ऐनबहादुर शाही ठकुरीले तिब्बतसँग सीमा जोडिएका हुम्लाका नाका खोल्न माग गरे । मुगुको खत्याड गाउँपालिकाबाट दुई दिन हिँडेर मात्र सदरमुकाम पुग्न सकिने भएकाले गाउँपालिकामै इलाका प्रशासन कार्यालय खोल्न उनले माग गरे । सांसद कान्तिका सैँजुवाललले कर्णाली राजमार्गलाई गौरवको आयोजनाका रुपमा विकास गर्नुपर्ने बताए ।
सांसद गीता बस्नेतले राष्ट्रिय जनावर गाईको संरक्षणका लागि सात सय ५३ वटै स्थानीय तहले गौशाला बनाउन बजेट छुट्याउनुपर्ने बताइन् । सांसद चन्दा कार्की भण्डारीले स्वास्थ्य महत्वपूर्ण विषय भए पनि राज्यको प्राथमिकतामा नपरेको भन्दै सरकारी अस्पताल व्यवस्थित हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद छिरिङ लामा तामाङले गणतन्त्रको मर्मअनुरूप विकास निर्माणको काम हुनुपर्नेमा जोड दिए। खस सभ्यता मौलिक भएकाले सिञ्जामा प्रतिष्ठान नै स्थापना गर्न उनले आग्रह गरे । सांसद जावेगा खातुनले बर्दियाका किसानले सीमा क्षेत्रबाट मलखाद ल्याउँदा समस्या भोग्नुपरेकाले समाधान गर्न सरकारसँग आग्रह गरे ।
प्रतिक्रिया