काठमाडौँ — एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरूवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मलेसियालाई ६ विकेटले पराजित गरेको हो । नेपाली क्रिकेटले एकपछि अर्को सफलता हात पार्दै गइरहेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले हात पारेको सफलताले क्रिकेट प्रेमीमात्र नभएर सिंगै देशबासीलाई खुशीको उपहार दिएको छ । नेपाली टोलीले जति सफलता हात पारेको छ त्यो सब आफ्नो परिश्रम र मिहिनेतको फल हो । पछिल्लो समय नेपालको क्रिकेट सफल्ता देख्दा लाग्छ एकदिन नेपालले बिश्वकप खेलमा नेपाली चन्द्रसूर्य अंकित झण्डा फहराउदै देशको नाम रोशन गर्ने दिन अब धेरै टाढा छैन ।
अर्को सफलता खोज्ने क्रममा राजधानीमा सुरु भएको एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुआत गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गतको समूह ए को पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ३६ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कुशल मल्ल र भिम सार्कीले अर्धशतकीय ईनिङ खेले । मल्लले ४० बलमा ५ चौका र ५ छक्काको सहयोगमा अविजित ७० रन बनाए । भिमले ९७ बलमा ५ चौका सहयोगमा ७१ रन बनाए ।
भिम र मल्लले चौथो विकेटका लागि १ सय १२ रनको सानदार साझेदारी गरे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ४२ रन बनाउँदा ओपनर कुशल भुर्तेलले ३८ रन बनाए । मलेसियाका लागि विजय उन्नी,विरनदिप सिंह,मोहम्मद वाफिक र रिजवान हैदरले समान ११ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनायो । मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरे । विरन्दिप सिंहले ४६ रन बनाउँदा ओपनर मोहम्मद अमिर १७ रनमा आउट भए ।
दोस्रो विकेटका लागि फैज र सिंहले १ सय १६ रनको शतकीय साझेदारी गरे । ३३ दशमलब २ ओभरमा सन्दीप लामिछानेले शतकीय साझेदारी तोडेका थिए । अहमद फैजको विकेटसँगै उक्त साझेदारी तोडिएको थियो । विजय उन्नी १२ मा आउट हुँदा सायद अजिज १३ रन बनाए । खिजार ह्यायातले २२ तथा साजरुल इद्रासले अविजित १५ रन बनाए । यता नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए ।
ललित नारायण राजवंसी २ तथा गुल्सन झाले १ विकेट लिए । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘ए’ मा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । नेपालले तीन खेल त्रिवि क्रिकेट मैदानमा खेल्दा एक खेल मुलपानीमा खेल्नेछ । उपाधि विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।


प्रतिक्रिया