Breaking

खुम्बुको पदमार्ग निर्माणमा जीवन विताएका पासाङको काजक्रियामा गाउँपालिकाको आर्थिक सहयोग


काठमाडौँ – जीवनको उर्जाशील समय (६५ वर्ष) खुम्बु पदमार्ग निर्माणमा बिताएका पासाङ शेर्पा (लामा सेरू) को काजक्रियामा खुम्बुपासाङल्हमु गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । पुरै जीवन खुम्बुको पर्यटन प्रवद्र्धनमा बिताएको र आर्थिक अवस्थालाई समेत मध्यनजर गरि गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णयमा पुगेको अध्यक्ष मिङमाछिरी शेर्पाले जानकारी दिनुभयो ।

वि.सं. १९९९ सालमा जन्मिएका उनको ८१ वर्षको उमेरमा आइतबार खुम्बुपासाङल्हमु गाउँपालिकास्थित मिस्लुङमा निधन भएको हो । सोलुखुम्बुकै माप्यदुधकोशी गाउँपालिका काँकु स्थायी ठेगाना भएका शेर्पा १६ वर्षको उमेरदेखि नै सगरमाथा जाने खुम्बु क्षेत्रको पदमार्ग निर्माणमा सक्रिय थिए ।

नाम्चेबजारदेखि तेङबोचे जाने पदमार्गको बीचमा पर्ने अधिकांश भीरको बाटो उनैले बनाएका हुन् । उनले झण्डै १५ किलोमिटर भिरालो गोरेटोलाई कुटो कोदालोकै भरमा आकर्षक र बलियो पदमार्गको रुपमा विकास गरेका छन् ।

बाटोमा चन्दाबाकस राखेर खुम्बु घुम्न आउने पर्यटकहरूबाट चन्दा संकलन गर्दै केही श्रमिक लगाएर उनले अहोरात्र सडक निर्माण गरेका थिए । उनको समाजसेवाको भावनलाई कदर गर्दै विभिन्न संघसस्थाले सम्मानसमेत गरेका थिए ।