Breaking

तातोपानीबाट निर्यात खोल्ने सहमति


काठमाडौँ – २०७२ सालको विनाशकारी भूकम्पको गएको सात वर्षदेखि मालवाहक रुपमा सञ्चालित भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट निर्यात खुलाउन चीन र नेपालबीच सहमति भएको छ ।

मंगलबार भएको नेपाल-चीनको सीमा मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा चीनले निकासीसहित ६ बुँदे सहमति भएको हो ।

नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक भएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार यस छलफलमा चीनका उच्च अधिकारीले नाकालाई स्थायी रुपमा सञ्चालन गर्न वैशाख १८ (मे १) बाट नाका खोल्नेसहित ६ बुँदे मौखिक निर्णय भएको हो ।

मंगलबारको ‘काउन्टर पार्ट मिटिङ’मा सीमाबाट निर्यातसहित कोभिड १९ सावधानी अपनाउने सूचना सप्रेषण, अन्तरदेशीय सीमा नाका सुरक्षा व्यवस्था, अपराध नियन्त्रण र न्यूनीकरण संवेदनशील रहेर गस्ती, थप चेक प्वाइन्टमा कडा जाँच, सूचना आदानप्रदानजस्ता मुख्य विषय थिए ।

चीन पक्षका अधिकारीले निकासी वस्तुको जाँच गर्न खासाको रमितेमा निकासी घर, भवन, अन्य पूर्वाधार संरचना निमार्णाधीन रहेको जानकारी दिएका थिए । बैठकमा नेपालबाट प्रजिअ न्यौपाने र चीनबाट न्यालम अध्यागमन इन्स्पेक्सन स्टेसनका प्रमुख सियाङ जुनले धारणा राखेर छलफल अघि बढाएका थिए ।

बैठकमा सीमा सुरक्षा सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक रवि केसी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा थिए । चीनबाट बोर्डर कन्ट्रोल प्रमुख सु गाङ, खासा अनुसन्धान प्रमुख गे साङ,सहायक प्रमुख युन डान, न्यालम र खासा प्रहरी स्टेसनका प्रमुखद्वय डान ड्रओ र जियान क्यान, न्यालम कानुन तथा अनुसन्धान प्रमुख जिया सी डुनझुललगायतका अन्य अधिकारी सहभागी थिए ।