Breaking

न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पनि पक्राउ


काठमाडौँ – बैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पनि पक्राउ परेकी छन् । सरकारी कागज किर्ते मुद्दामा फरार उनी बाँकेको नेपालगन्जबाट पक्राउ परेकी हुन् ।

न्यायाधीश गिरीमाथि बैवाहिक बलात्कारको मुद्दा दर्ता गराएकी गिरी पत्नी आरतीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले आइतबार पक्राउ गरेर सरकारी कागज किर्ते गरेको अर्को मुद्दामा पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । बाँके जिल्ला अदालतबाट सरकारी कागज किर्तेमा पक्राउ पुर्जी जारी भए पनि उनी लामो समयसम्म फरार थिइन् ।

कपिलवस्तु अदालतमा रहेका गिरी काज सरूवा मिलाएर न्याय परिषद काठमाडौंमा गएको समयमा एक साताअघि पक्राउ परेको थिए । रावललाई सोमबार अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा रावललाई यसअघि नै पक्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको थियो । आरतीमाथि न्यायाधीश गिरीका आफन्तले गाली बेइज्जतीको कम्तीमा ५ वटा मुद्दा बाँके जिल्ला अदालतमा दर्ता गराएका छन् भने न्यायाधीश गिरीले दर्ता गराएको आरतीसँग सम्बन्ध बिच्छेदको मुद्दा पनि जिल्ला अदालतमा बिचाराधीन छ ।

सुर्खेतबाट ५ वर्षअघि परिचित गिरी र रावलले दोस्रो बिहे गरे पनि त्यसयता सम्बन्ध राम्रो छैन । सुर्खेतपछि बाँके, कैलाली, कपिलवस्तु, काठमाडौं सबै ठाउँ पुगे पनि उनीहरूबीचको विवाद चलिरहेको छ । पछिल्लो पटक रावलले काठमाडौं गिरीले इच्छाविपरीत यौनशोषण गरेको आरोप लगाएकी थिइन् ।