देश

खुम्बुमा द्रुत सडक निर्माण, ब्लाष्टिङ र दुई एक्साभेटरले यसरी बनाउँदैछ गगनचुम्बी भीरबाट सगरमाथा जाने रोड


काठमाडौँ — सोलुखुम्बुको खुम्बु क्षेत्रमासडकको ट्रयाक निर्माण कार्य द्रुत गतिमा चलिरहेको छ ।खुम्बुपासाङल्हमु गाउँपालिकाको केन्द्र चौरीखर्कसम्म सडक विस्तारको योजना लिएको गाउँपालिकाको कार्यालयले यही वर्षभित्र सम्पन्न गर्ने गरि रफ्तार अघि बढाएको हो । विश्वको सर्वाेच्च शिखर सगरमाथा क्षेत्र सोलुखुम्बुको खुम्बु क्षेत्रमासडकको ट्रयाक निर्माण कार्य द्रुत गतिमा चलिरहेको छ ।

अघिल्लो आर्थिक वर्षमा थामडाँडासम्म ट्रयाक ओपन भएको सडकलाई गाउँपालिका चौरीखर्कसम्म पुर्याउनका लागि चालु आर्थिक वर्षमा धमाधम एक्साभेटर चलिरहेको छ । हाल पैयाँ तेर्साेमा ट्रयाक खोलिरहेको अवस्थामा छिटो सम्पन्न गर्न हेलीकोप्टर मार्फत अर्काे एक्साभेटर सुर्के पुर्याइ त्यहाँबाट समेत सडक निर्माण थालिएको छ । दुवै तर्फबाट काम गरि छिटो निर्माण सम्पन्न गर्ने र स्तरोन्नतीमा क्रियाशिल हुने गाउँपालिकाको लक्ष्य रहेको छ । कडा चट्टानयुक्त झण्डै ४ किलोमिटर सडक निर्माणका लागि ब्लाष्टिङ गरेर काम अघि बढाइँदैछ ।

यस गाउँपालिकाको खरिखोलाबाट बुक्सा हुँदै थामडाँडासम्म १४.६ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ । ६ करोड ६० लाख रुपैयाँमा विभिन्न उपभोक्त समिति मार्फत सडक निर्माण कार्य अघिल्लो जनप्रतिनिधिहरुको कार्यकालमै सम्पन्न भइसकेको थियो । गाउँपालिकाको दोस्रो कार्यकाल पनि अधिकांश सिटमा अघिल्लो जनप्रतिनिधिहरुनै पुन निर्वाचित भएपछि सडक निर्माणलाई निरन्तरता दिन सजिलो भएको हो । थामडाँडाबाट पैयाँ, सुर्के, मुसे हुँदै चौरीखर्कसम्म सडक निर्माणका लागि गाउँपालिकाले १२ करोडरुपैयाँ खर्च गर्दैछ । यो बजेटले पैयाँदेखि चौरीखर्कस्थि गाउँपालिकाको केन्द्रसम्म करिव १९.४ किलोमिटर सडकको ट्रयाक निर्माण हुनेछ ।

खुम्बु सडकको मेरुदण्ड मानिने ओर्लाङघाट पुल निर्माण सम्पन्न भएपछि खुम्बुमा सडक सञ्जाल द्रुत विकास भइरहेको छ । उक्त पुल निर्माण भएपछि खुम्बु क्षेत्रमा ढुवानीका लागि सहज भएको छ भने जिल्लाको तल्लो क्षेत्रको उत्पादनका बस्तुहरुसमेत विक्रीका लागि खुम्बु पैठारीमा कृषकहरु आकर्षित भएका छन् । पुल निर्माण भएपछि सडक मार्ग हुँदै खुम्बु भ्रमणमा जाने पर्यटकहरुको संख्यामा समेत वृद्धि भएको छ ।गाउँपालिकाले यस सडकखण्ड निर्माणका लागि जोड गरिरहेकै बेला गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाको निधन भएको थियो ।

उनको असामयिक निधनपछि खुम्बुपासाङल्हमु गाउँपालिकाले यस सडकखण्डलाई स्व. ङिमदोर्जी शेर्पा पर्यटन सडकखण्डनामाकरण गरेको छ । स्थानीय तहमा दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधि सडक निर्माण र स्तरोन्नतीमा थप जागरुक देखिएका छन् ।