Breaking

जीवनभर खुम्बुमा पर्यटकलाई बाटो बनाएर अस्ताए पासाङ (लामा सेरु)


काठमाडौँ — जीवनको पुरै ६५ वर्ष खुम्बु पदमार्ग निर्माण गरेर समय विताएका पासाङ शेर्पा (लामा सेरु) को निधन भएको छ । वि.सं. १९९९ सालमा जन्मीएका उनको ८१ वर्षको उमेरमा आइतबार खुम्बुपासाङल्हमु गाउँपालिकास्थित मिस्लुङमा निधन भएको हो । सोलुखुम्बुकै माप्यदुधकोशी गाउँपालिका काँकु स्थायी ठेगाना भएका शेर्पाले १६ वर्षको उमेरदेखि नै सगरमाथा जाने खुम्बु क्षेत्रको पदमार्ग निर्माणमा सक्रिय थिए ।

नाम्चेबजारदेखि तेङबोचे जाने पदमार्गको बीचमा पर्ने अधिकांश भीरको बाटो उनैले बनाएका हुन् । उनले झण्डै १५ किलोमिटर भिरालो गोरेटोलाई कुटो कोदालोकै भरमा आकर्षक र बलियो पदमार्गको रुपमा विकास गरेका छन् । बाटोमा चन्दाबाकस राखेर खुम्बु घुम्न आउने पर्यटकहरुबाट चन्दा माग्दै संकलन भएको रकमले केही श्रमिक लगाई अहोरात्र सडक निर्माण गरिरहेका थिए । उनको समाजसेवाको भावनलाई कदर गर्दै विभिन्न संघसस्थाले उनलाई सम्मानित गरिएको थियो ।

उनको अन्तिम काजक्रियाका लागि खुम्बुपासाङल्हमु गाउँपालिकाले एक लाख रुपैयाँ क्रिया खर्च समेत उपलब्ध गराएको छ । पुरै जीवन खुम्बुको पर्यटन प्रवद्र्धनमा विताएको र उनको आर्थिक अवस्थालाई समेत मध्यनजर गरि दाहसस्कारका लागि गाउँपालिकाले आर्थिक सहायता गरेको अध्यक्ष मिङमाछिरी शेर्पाले जानकारी दिनुभयो ।