Breaking

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा


काठमाडौँ — नेपाल आएका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले आज राजनीतिक भेटवार्ता गर्दैछन् ।

सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन सडकमार्ग हुँदै आइतबार धनगढी आएका चौथाइवाले सोमबार काठमाडौँ आउने र राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । काठमाडौँ आउनुअघि उनले धनगढीमा मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

काठमाडौँ आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउद लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा प्रधानमन्त्री प्रचण्डको निकट भविष्यमा हुने भारत भ्रमणको तयारीबारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति निश्चित भइसकेको छैन । तर उनी छिट्टै भारत जाने तयारीमा छन् । स्रोतका अनुसार भारतको रक्सौलदेखि काठमाडौँसम्मको अन्तरदेशीय विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भएलगत्तै वैशाख अन्तिम सातातिर प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने गरी तयारी भइरहेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीकै लागि आइतबार परराष्ट्रमन्त्रीमा एनपी साउद नियुक्त भएका छन् । आइतबार शपथ पदभारपछि सञ्चारकर्मीसँग कुरा गर्दै साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने बताएका छन् ।