Breaking

सिंहदरवारमा जनप्रतिनिधिको घुइँचो, योजना निवेदनको चाङ (भिडियोसहित)


काठमाडौँ – आगामी आर्थिक वर्षमा आफ्नो गाउँठाउँको विकासका लागि योजना माग गर्दै सिंहदरवार धाउने जनप्रतिनिधिको ताँती छ । सिंहदरवारमा देशैभरका स्थानीय जनप्रतिनिधिहरू हातमा योजनाको निवेदन बोक्दै विभिन्न मन्त्रालय धाइरहेका छन् । विषयगत मन्त्रालयहरुले योजना संकलन थालेपछि देशैभरका स्थानीय जनप्रतिनिधिहरु सिंहदरवारमा थुप्रिएका हुन् ।

यो सिंहदवारभित्रको मूल सडक । संधै सुनसान रहने सिंहदरवारमा आजकाल कार्यालय समयमा यत्तिकै बाक्लो चहलपहल देखिन्छ । यी दृश्यमा देखिएका अधिकांश देशैभरबाट आएका गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिहरू हुन् ।

उनीहरुको हरेकको गोजीमा आफ्नो गाउँको विकास निर्माण योजनाका निवेदनहरु छन् । आगामी आर्थिक वर्षको बजेटमा आफ्नो योजना समावेश गराइदिन भन्दै स्थानीय जनप्रतिनिधि र पार्टीका नेताहरुले सिंहदरवार भरिएको हो । भर्खरै मन्त्रीपरिषद विस्तारले अधिकांश मन्त्रालयमा मन्त्री आइसकेपछि पार्टीगत लविङमा आउने नेता र जनप्रतिनिधिहरुको घुइँचो छ । आइतबार सिंहदरवारमा पुग्दा सुदुरपश्चिम देखि पूर्व र हिमाल देखि मधेससम्मका जनप्रतिनिधिहरु भेटिए । रौतहटबाट स्थानीय जनप्रतिनिधिलाई अघि लगाएर सिंहदरवार आइपुगेका एक व्यक्तिले योजनाको ठेली देखाउँदै विकासको आश राखे ।

विशेषगरि माअ‍ोवादी केन्द्र, नेपाली काँग्रेस, एकिकृत समाजवादी, जसपा लगायतका दलबाट मन्त्री बनेकाले सोही पार्टीबाट स्थानीय तहमा जनप्रतिनिधि बनेका र पार्टीका नेता कार्यकर्ताहरुले सिंहदरवारमा बाहुल्यता जनाइरहेका छन् । विकास निर्माणका योजनाहरु बढि निर्माण हुने भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी मन्त्रालय, शहरी विकास मन्त्रालय जस्ता मन्त्रालयहरुमा योजना माग्न आउनेको ताँती छ । अझ प्रधानमन्त्री कार्यालयमा योजनाको सुचिकृत गर्ने प्रधानमन्त्रीको छुट्टै सचिवालय गठन गरिएको छ ।

स्थानीय तहको अवधारणा अनुसार केन्द्रको सिंहदरवारलाई गाउँगाउँसम्म पुर्याउने भनिएपनि अहिलेसम्म त्यस अनुसारको अवधारणा प्रयोग नभएको स्थानीय जनप्रतिनिधहरुको अनुभवछ । हिमाली जिल्ला सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकामा दोस्रो कार्यकाल सुरु गरेका मेयर नाम्गेल जाङबु शेर्पाले आर्थिक अधिकारमा स्थानीय तहलाई अंकुश लगाएकाले सिंहदरवारनै धाउनु पर्ने स्थिति पैदा भएको गुनासो व्यक्त गरे ।

अहिले हरेक विकासे मन्त्रालय र विभाग र महाशाखाहरुमा जनप्रतिनिधि, पार्टीका नेता कार्यकर्ता र समाजमा आफ्नो छुट्टै व्यक्तित्व बनाएका व्यक्तिहरु विकास योजनाको निवेदन बोकेर पुगिरहेका छन् । तर विकासका योजना यसरी शक्ति र पहुँचका भरमा भन्दा आवश्यकताका आधारलाई प्राथमिकतामा राखेर छनौट हुनु पर्ने हो । यो तरिकाबाट योजना संकलन हुँदा जुन क्षेत्रमा बढि नेता कार्यकर्ता वा बोलवालाहरुको समूह बलियो छ त्यही स्थानमा बढि बजेट खन्याइने स्थिति पैदा हुन्छ । र शक्तिशाली नेता वा व्यक्तित्व नभएका गाउँ नगरमा विकासका आधारभूत आवश्यकताहरु पनि नपुग्ने स्थिति हुन सक्छ । जुन विकासको स्वभाविक प्रक्रिया होइन ।