Breaking

काठमाडौँ विश्वकै प्रदूषित शहर, मानव स्वास्थ्यमा कस्तोर असर गर्ला ? (भिडियोसहित)


काठमाडौँ – काठमाडौँमा आईतबार १८८ बाट सुरू भएको हावाको मापन २१६ अंक सम्म पुग्यो । मानव स्वस्थ्यमा अति अस्वस्थकर मानिने हावामा पाएको यो अंकले विश्वकै प्रदूषित शहरमध्य काठमाडौँ पहिले नम्बरमा पर्‍यो ।

पछिल्लो ३ दिन यता काठमाडौँको वायु अस्वस्थकर बन्दै गएको एअर क्वालिटी इन्डेक्स (एक्यूआइ) ले देखाएको छ । आईतबार त झन् देशको संघीय राजधानी काठमाडौँ विश्वको प्रदूषित शहरहरुमध्ये पहिलो नम्बारमा नै पर्‍यो। हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरका अनुसार आईतबार बिहान पौने ८ बजे २१६ अंक सहित अति अस्वस्थकर हावा बहँदै विश्वको सबैभन्दा बढी प्रदूषण हुने शहरमा परेको हो । त्यस्तै ४१ अंक प्राप्त गरेको हेटौडा नेपालको सबैभन्दा सफा सहरमा परेको छ ।
वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावको हिसाबले हावालाई शून्यदेखि ५०० सम्म विभिन्न तहमा विभाजन गरेको छ । जसमा शुन्य देखि १४९ सम्मलाई राम्रो मध्यम र सामान्य रुपमा राखिएको छ । १५० देखि २०० सम्मलाई अस्वस्थकर हावा मानिन्छ भने २०१ देखि ३०० सम्मलाई अति अस्वस्थकर हावामा लिइन्छ । त्यो भन्दा माथिको हावा खतरनाक मानिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले वायु प्रदूषणलाई सबैभन्दा ठूलो पर्यावरणीय स्वास्थ्य जोखिमको रुपमा मानेको छ । मौन हत्याराको रुपमा चित्रण गरिएको वायु प्रदूषणकै कारण प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ । तथ्यांकका अनुसार विश्वको सबैभन्दा प्रदूषित क्षेत्र दक्षिण एसियाका ९८.८ प्रतिशत मानिसहरूले अस्वास्थ्यकर हावामा सास फेर्छन् ।


वातावरण प्रदूषणका कारण मानव स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन समस्याहरु देखिने वरिष्ठ चिकित्सकहरु बताउँछन् । श्वासप्रश्वासमा समस्या,आँखा,नाक र घाँटीको जलन, फोक्सोको क्यान्सर, दम, ब्रोंकाइटिस, र एम्फिसेमा जस्ता रोगहरुको विकास हुने गर्दछ । हाल नेपालमा क्यान्सरमध्ये सबैभन्दा बढी फोक्सोको क्यान्सरको कारण मृत्यु हुन्छ । क्यान्सरका बिरामीहरुमध्ये हाल नेपालमा सबैभन्दा बढी फोक्सो क्यान्सरकै बिरामीहरुको मृत्यु हुने गरेको छ । यति खतरनाक तथ्यांकले आइरहँदा वातावरण प्रदूषणबाट बच्न माक्सको अनिवार्य प्रयोग गर्न चिकित्सकको सल्लाह छ ।

काठमाडौँ विश्वकै प्रदूषित शहर हुनुमा मानव, भौगोलिक र प्राकृतिक जस्ता विविध कारणहरु छन् । अन्य देशको तुलनामा धेरै मात्रामा उद्योग, कलकारखाना नभए पनि नेपालमा चल्ने धेरै जसो सवारी साधन पुराना छन् । जसबाट निस्कने धुवाँ मानव स्वस्थयमा नकारात्मक हुनुका साथै वातावरणका लागि पनि हानिकारक छ । त्यस्तै वन डढेलो, अव्यवस्थित भवन निर्माण र फोहोर संकलन पनि प्रदूषणको प्रमुख कारक तत्व नै हुन् भने, वर्षाको समयमा पानी नपर्नुलाई पनि कारण मानिन्छ । २०२२ मा विश्वकै प्रदूषित देशहरु मध्ये १६ स्थानमा रहेको नेपाल यस्तै अवस्थामा रही रहने हो भने पहिलो नम्बरमा नपुग्ला भन्न सकिन्न ।