Breaking

चितवन २ मा फेरि रविले जिते दोस्रोपटक उपनिर्वाचन हुन्छ : योगेश भट्टराई


काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा गत मंसिरमा भएको चुनावको जस्तो नतिजा आए पुनः उपचुनाव हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

एमाले सचिव भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति संकेत गर्दै फेरि पनि उनले जिते चितवन-२ मा पुनः चुनाव गराउनुपर्ने अवस्था आउने टिप्पणी गरेका हुन् ।

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा विजयी भई गृहमन्त्रीसमेत बनेका रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएपछि दुवै पदबाट बर्खास्त भएका थिए । प्रक्रियाबमोजिम पुनः नेपाली नागरिकता लिएर उपचुनावमा पनि उम्मेदवार बनेका उनको दोहोरो राहदानी विवाद कायमै छ । यद्यपि महान्यायाधिवक्ताको कार्यालयले यस प्रकरणमा मुद्दा चलाउनुनपर्ने देखिएको ठहर गरिसकेको छ ।

चुनाव प्रचारका क्रममा चितवन आएका एमाले सचिव भट्टराईले आइतबार बिहान प्रेस चौतारी नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा रास्वपा सभापति लामिछानेले कानुन उल्लंघन गर्दा चितवन २ मा उपनिर्वाचन गर्नुपरेको बताउँदै पुनः उनी नै विजयी भए फेरि उपचुनाव हुने दाबी गरेका हुन् ।

रविकै कारण चितवन-२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ । जहाँ रविसहित सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपानेलगायत उम्मेदवार छन् ।