Breaking

देउवाको दाउले संकटमा प्रचण्ड, माओवादीमा सरकार गुमाउने डर, ओली मुख मिठ्याउँदै


काठमाडौँ — गुमिसकेको सत्ता यात्रा माओवादीसंग पुन सहकार्य सुरु भएपछि फर्किएको छ । सम्भवतपाँच वर्षे कार्यकालमा दुई दुई वर्ष काँग्रेस माओवादीले नेतृत् वगर्ने र एक वर्ष एकिकृत समाजवादीले गर्ने भद्र सहमति भएको बताइन्छ । तर काँग्रेस सभापति शेरबहादुर देउवाले केही दिन अघि दिएको सरकारको नेतृत्वगर्ने सम्वन्धी अभिव्यक्तिले शंका पैदा गराएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले ‘चाँडै सरकारको नेतृत्वमा पुग्ने सम्भावना छ’ भन्ने अभिव्यक्ति दिएपछिसत्ता राजनीति एकाएक चर्चा, तरंग र शंकामा परेको छ ।

गठबन्धनवादी दलहरु त्यसमा पनि सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र अलि बढी आत्तिएको छ । प्रमुख प्रतिपक्षको भूमिका रहेको नेकपा एमाले भने काँग्रेसको बुद्धि फिरेको र निद्राबाट बिउँझिएको अर्थमा टिप्पणी गरिरहेको छ । किनकि यो सम्भावनाभन्दा बाहिरको विषय पटक्कै होइन ।

यसैपनि नबोल्ने देउवा, बोलेपछि गाँठी कुरो बोल्छन् भन्ने राजनीतिक छबि भएकै कारण पनि अन्य राजनीतिक दलले यसलाई अर्थपूर्ण रुपले हेरेका छन् ।माओवादीमा सत्ता गुमाउने डर पैदा भएको छ । नेकपा एमाले सत्ता फेरबदलको सम्भावना देखेर सपना देख्न थालेको छ । तर मुल प्रश्न, देउवाले यतिबेलै सत्ताको सम्भावना किन देखेँ ? किनकि देउवाकै पहलमा सहमति भएर फागुन १२ मा १० दलीय गठबन्धन बनेपछि काँग्रेसले मागे बमोजिम नै पाइरहेको छ ।

कुनै दलले समर्थन फिर्ता लिएको अवस्था पनि छैन । तर समर्थन फिर्ताको सम्भावना भने बलियो छ ।सरकारमा हिस्सा नै नपाएको रास्वपा र रोजेको मन्त्रालय नपाएपछि सरकार छोडेको जनमत पार्टी बैशाख १० को उपचुनावपछि समर्थन झिक्ने तयारीमा छन् ।

फलतः कुनै पनि कारण यो सरकार अल्पमतमा परे वा विश्वास गुमाएर ढल्ने अवस्था बने ठूलो दलको हैसियतले देउवा प्रधानमन्त्री बन्ने बाटो खुल्ला भएको अवस्थामा काँग्रेसले सरकारको नेतृत्व गर्ने सम्भावना बलियो छ भन्ने अभिव्यक्ति आएपछि ढीलै भएपनि काँग्रेसलाई आफ्नो हैसियतबारे अवगत भएको भन्दै एमाले उत्साहित बन्न थालेको छ ।

देउवाले सरकारको नेतृत्व गर्न तयार भए, एमाले समर्थन दिनतयार भइहाल्नेछ । किनकि एमालेको अहिलेको रोजाई नै यही हो । आफैले प्रधानमन्त्री बनाएका प्रचण्डले सत्ताबाट घोक्रेठ्याक लगाएपछिमात्रै गुमेको भेउ पाएको उसले प्रचण्ड नेतृत्वको सरकारलाई पनि लामो समय टिक्न नदिने नीति अंगालेको छ ।

तर सरकार ढाल्ने विकल्पहरु सबै बन्द देखिएपछि आफुलाई चासो नभएको बताउँदैमा उसका दिनहरु वितिरहेका छन् ।अहिले देउवा आफै सरकारको नेतृत्व गर्न आतुर छु भन्ने आशयबाट प्रस्तुत भएपछि एमालेका लागि यो ढुंगा खोज्दा देउता हो । तर गठबन्धन भत्किएर सरकार फेरबदल भइहाल्ने विषयमा माओवादी विश्वस्त छैन ।

माओवादी यो सरकारलाई सकभर पाँचै बर्ष टिकाउन चाहन्छ । त्यति नभएपनि गठबन्धनलाई पाँच बर्ष टिकाउने लक्ष्य माओवादीको छ । तर काँग्रेस सहमतिकै आधारमा चलेपनि देउवा साढे दुईबर्ष पछि सरकारको नेतृत्वमा पुग्नेछन् । यद्यपी साढे दुईबर्ष वा तीन बर्ष नै पर्खिएर सत्ताका लागि समय खेर फाल्ने पात्र देउवा होइनन् । तर पछिल्लो समय ओलीसँग विश्वास उडेकै कारण उनी एमालेसहितको सरकार बनाउन सकारात्मक छैनन् ।

यद्यपी सरकारमै भएका मन्त्रीहरु भनेआवश्यकता नै वाम एकतासहितको सरकार भएको भन्दै अझै पनि एमाले–माओवादी मिलेरै अघि बढ्नुपर्ने बताइरहेका छन् । काँग्रेस–एमालेको सरकार बनाएर राजनीतिक र आर्थिक स्थायित्व ल्याउन केही नेताहरु सक्रिय छन् । किनकि उनीहरुको बुझाई छ, राजनीतिक प्रणालीको स्थायित्व १० भाग लगाएरभन्दा दुई दलको संयमित पुनर्मिलनले मात्रै दिनसक्छ ।

तर के गर्नु, एमाले–काँग्रेसको मिलन विदेशीहरुले पनि नचाहेको अर्थमा टिप्पणी भइरहेका छन् । यद्यपी एमाले नेतृत्वको गठबन्धन भत्किएर फागुन १२ मा काँग्रेस सत्तामा आएपछि साढे दुई बर्ष प्रचण्ड, त्यसपछिको एकबर्ष माधवकुमार नेपाल र बाँकी रहेको डेढ बर्ष सरकारको नेतृत्व गर्दै चुनाव गराउने जिम्मा देउवाले उठाएका छन् । पर्ख र हेरको नीतिमा रहेका देउवा प्रचण्ड र ओलीको विवादको केन्द्रलाई थप तन्काउने दाउमा छन् ।

देउवा ओली—प्रचण्ड मिलनको अन्त्यसमेत खोजिरहेका छन् । देउवा ओलीसँग सहकार्यका लागि त्यतिबेलामात्रै तयार हुन्छन्, जतिबेला ओली–प्रचण्ड मिल्ने सम्भावनाको सम्पूर्ण अन्त्य हुन्छ । त्यसले सत्ताको रोजाई देउवाकै कोटमा भएपनि तत्कालै फेरबदलको सम्भावना न्यून देखिन्छ ।