Breaking

चुनाव नै चुनावको वर्ष, पुरानाको राज नयाँको संघर्ष, निराशामा जनता


काठमाडौँ — आजबाट नेपाली नयाँ वर्ष २०८० सुरु भएको छ । नयाँ बर्ष, नयाँ दशक सुरु हुँदै गर्दा राजनीतिक अस्थिरतामा गिजोलिएको ७० को दशक अझ २०७९ साल आशातित हुँदा हुँदै पनि पूर्णत अन्यौलमै वित्यो । निर्वाचनमय २०७९ साल राजनीतिक नेतृत्व परिवर्तन आएपनि जनजीविकामा भने थप निराशा र वितृष्णाले राज गरेको देखियो । वर्ष २०७९ समग्रमा निर्वाचनमय रह्यो । वितेको वर्ष स्थानीय तहदेखि केन्द्रसम्म नेतृत्व फेरवदलमै वित्यो । नेतृत्व हत्याउने हानथापमै वित्यो । नेतृत्व चयन र सत्ताको लुछाचुँडीको केहि अंश २०८० को सुरुवातसम्म पनि सकिएको छैन । २०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचन सम्पन्न भयो । निर्वाचन मार्फत ७ सय ५३ वटा स्थानीय तहले नयाँ नेतृत्व पाए ।

स्थानीय सरकारमा नेतृत्व त फेरियो तर जनजीविका ज्यूँका त्यूँ छन् । निर्वाचन मार्फत धेरैजसो स्थानीय तहले नयाँ जनप्रतिनिधि पाए । काठमाडौ महानगरपालिकामा बालेन्द्र शाहको उदय धरान उपमहानगरमा हर्क साम्पाङको जित ऐतिहासिक बन्यो । नागरिकले केहि गर्लान कि भन्ने आशा सहित केहि गर्ने हुटहुटी बोकेकालाई चुनाव जिताए, नेतृत्वमा पु¥याए तर नतिजा सबैसामु छर्लङग छ । संघर्षमै रहेका स्थानीय तहका नेतृत्व केहि स्टन्टवाजी र विवाद सिवाय जनजीविकामा प्रभाव पार्न असफल बने । अनुभवको अभावमा अल्मिलिएका छन भने अझै पनि सिक्ने र सिकाउने चरणमै छ ।

मंसिरमा संसदीय निर्वाचन सम्पन्न भयो । पुराना पार्टी र नेतृत्वबाट आजित बनेका सर्वसाधरणले वैकल्पिकको खोजी संसदीय निर्वाचनमा पनि गरे । निर्वाचनमार्फत स्वतन्त्र पार्टी र जनमत जस्ता नयाँ दलले पाएको जनमत यसकोे उदाहरण मान्न सकिन्छ । निर्वाचनपछि नयाँ सरकार नयाँ सदन बन्यो । विडम्बना नयाँ त आए तर नयाँ केहि आएन । अर्थात नयाँ अनुहार नयाँ दल उही पुरानै दलहरुको दलदलमा रुमलियो । परिणाम सदन पटक्कै सडकमैत्री बन्न सकेको छैन ।

सदनमा सडकको समक्षिा शुन्य छ । सरकारको कुरा सुनाई साध्य छैन । अस्थिर राजनीतिक अंकगणित र गठबन्धनको राजनीतिले तीन महिनामा दुई पटक गठबन्धन फेरबदल भयो । सात–सात पटक अपुरो मन्त्रिपरिषद विस्तार भए । नयाँ सरकारको नयाँ मन्त्रीहरु आए तर जनताका लागि के गरे बत्ति बालेर खोज्दा पनि भेटिन मुस्किल छ ।अर्थात चुनावपछि गठित सरकार जनजीविकालाई सम्बोधन गर्न असमर्थ छ । उहि औपचारिकताकै उल्झनमा छ ।

२०७९ मा पाँच वर्षका लागि मुलुकले राष्ट्रपति, उपराष्ट्रपति ,सभामुख, उपसभुख निर्वाचन सम्पन्न गरेको छ । वर्षभरी नै संकटग्रस्त अर्थतन्त्र वर्षको अन्त्यतिर नै भएपनि अर्थतन्त्रको सुचक सकरात्मक उन्मुख छ । केहि सुधारिएको छ । वैशाखको १० को उप निर्वाचनपछि हुने मन्त्रिपरिषद विस्तार र नेतृत्वको सत्ताको सौदाबाजी भन्दा जनता केन्द्रित हुन सके २०८० सकरात्मक हुनेमा द्धविधा छैन ।