Breaking

सरकारले वैदेशिक अध्ययन अनुमतिपत्र एनओसीमा कडाई गर्दै


काठमाडौँ – सरकारले वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) मा कडाई गर्दै झुटा विवरण पेश गर्नेलाई कारबाही गर्ने भएको छ ।

सरकारले एनओसी प्राप्त गर्न केही प्रावधानसहित नयाँ निर्देशिका जारी गरेको हो । नयाँ निर्देशिका अनुसार विदेश पढ्न अनुमति लिने चरण, शिक्षण संस्था र विषय छनोट, विदेशी मुद्रा सटही लगायतका प्रक्रियामा कडाई गरिएको हो । गत फागुन १८ मा स्वीकृत निर्देशिकामा उच्च शिक्षा (स्नातक र त्यसभन्दा माथि) अध्ययनका लागि मात्रै एनओसी दिने उल्लेख गरिएको छ । तर पछिल्ला वर्ष भाषा, तालिम र डिप्लोमा कोर्स गर्न पनि एनओसी लिएर विदेशीनेको संख्या बढ्न थालेपछि कडाई गरिएको जनाइएको छ ।

‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका–२०७९’ जारी गरेसँगै नेपाली विद्यार्थीहरु जापानमा पढ्न जाने विद्यार्थीमाथि थप कडाई भएको छ । निर्देशिकाले भाषा र डिप्लोमा कोर्ष पढ्नका लागि ‘एनओसी’ (नो अब्जेक्सन लेटर) दिन रोक लगाएसँगै जापानमा पढ्न जाने विद्यार्थीका लागि बाटो बन्द भएको हो । जापानमा प्रत्येक वर्ष करिब १० हजारको हाराहारीमा नेपाली विद्यार्थी पढ्न जान्छन् ।

एनओसी शाखाका अनुसार गत वर्ष १० हजार भन्दा बढी नेपाली विद्यार्थी पढ्नका लागि जापान गएका थिए । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ६ हजार ७ सय जनाले जापान पढ्नका लागि एनओसी लिएका छन् । आर्थिक वर्ष २०७७/०७८ नेपाली विद्यार्थीका लागि जापान प्रमुख गन्तव्य बनेको थियो । कोरोना महामारीकाबीच जापानमा ८ हजार १ सय ४६ नेपाली विद्यार्थी पढ्नका लागि गएका थिए ।

प्रत्येक वर्ष हजारौंको संख्यामा नेपाली विद्यार्थी जापान जाने गरेका छन् । मन्त्रालयको निर्देशिकापछि भने त्यो अवसरबाट विद्यार्थीबञ्चित हुन पुगेका छन् ।