Breaking

माधवको पार्टीमा निरन्तर पहिरो,एमालेसंग अझै सवाल जवाफ ,प्रधानमन्त्री हुनेमा पनि शंका


काठमाडौँ — केपी ओली व्यवस्था र संविधान विरोधी कार्यमा लिप्त भएको भन्दै फरक बाटो अगालेको माधव नेपाल र उनको पार्टी अस्थित्व रक्षाको लडाँईमा छ । पार्टीबाट एमाले प्रवेश गर्ने बढेका छन् भने पार्टीगत दुस्मनी पनि कम भएको छैन । त्यस्तै गठबन्धनभित्रै पनि उनी पेलिदै गएका छन । कांग्रेसले साथ नदिएपछि एमालेको काख पाएर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा माधव नेपाल दर्शक जस्तो मात्रै थिए । विगत हेर्न हो भने आफूलाई नैतिक वल दिने प्रचण्डको यो कदमले एकीकृत समाजवादी सशंकित कै अवस्था थियो ।

भलै केपी ओलीसंग टिक्न नसकेपछि उनले फेरेको बाटोले नेपाल राष्ट्रपतिकै लागि समेत अफरमा परे । हुन त निर्वाचनपछि उनीहरुको घोचपेच कम भएको थियो भने राष्ट्रपति र संसद भवनमा देखिएको मुस्कानपूर्ण भेटले पुन नेकपा बन्नेसम्मका चर्चा पनि यो विचमा चले । तर अहिले पनि नेपाल र उनको पार्टीको कोहिसंग भिडन्तको अवस्था छ भने त्यो एमालेसंगै भएको कुरा पनि छर्लङ्ग नै छ । जसको पछिल्लो श्रृखला सदन र सडक दुवै तिर बढेको छ ।

वुधबार बसेको संसदमा एकीकृत समाजवादी सांसद राजेन्द्र पाण्डे र एमालेका प्रमुख सचेतक पदम गिरीबीच सवाल जवाफ नै भएको थियो । पाण्डेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने घटनामा पूर्व गृहमन्त्री (एमाले नेता रामबहादुर थापा बादल) र उनका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, एमाले नेता टोपबहादुर रायमाझी र उनको छोरा सन्दीप रायमाझीको समेत नाम आएको भन्दै अपराधीलाई कारबाही गर्नुपर्ने बताएपछि एमाले प्रमुख सचेतक गिरीले आपत्ति जनाएका हुन् ।

यता वुधबार नै सुनसरीको इनरुवामा रहेका समाजवादीका अध्यक्ष् नेपालले एमाले संसद विघटन गर्ने दाउमा रहेको अर्को आक्षेप लगाए । मन र विचार मिल्नेहरुसँग एकताका लागि छलफल गर्ने तर ओलीसँग भने एकताको सम्भावना नरहेको समेत बताएका थिए । उनको जवाफ पनि एमाले नेता योगेश भट्टराईले दिए । उनको वोली प्रति आपत्ती जनाएका भट्टराईले यसलाई शंकास्पद भएको भन्दै प्रतिपक्षमा भएको पार्टीले कसरी संसद विघटन गर्छ भनेर प्रतिप्रश्न नै गरे । जहाँ उनले नेपाल होसमा छन कि छैनन् भन्ने टिप्पणि समेत गरेका थिए ।

सडक र सदनमा भएको दुई पार्टीको नेताको यो सवाल जवाफले उनीहरुको सम्बन्ध प्रष्ट पारेको छ भने गठबन्धनमा पनि एकीकृत समाजवादी पेलानमा छ । पहिलो गठबन्धनताका नै आफूहरुलाई दवावमा राख्न खोजिएको उनीहरुको पुरानै टिप्पणीका विच यो यो पटक पनि तीन मन्त्रालय मागेकोमा २ ओटामै चित्त बुझाएको छ । अर्कातर्फ नेपाल आलोपालो प्रधानमन्त्री बन्ने सहमती भएको विषयमा समेत माओवादी नेताहरुले नै त्यसको खण्डन गर्न थालेका छन । उनीहरुका अनुसार ३ बर्ष प्रचण्ड प्रधानमन्त्री हुने छन भने २ बर्ष देउवा नेतृत्वमा जाने छन ।

यहिवीचमा अध्यक्ष नेपालको कार्यशैलीमाथि प्रश्न उठाउँदै शीर्ष नेताहरु पार्टीबाट अलग हुन थालेका हुन् । शनिबारमात्रै अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा रहेका नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरे भने ललितपुर जिल्ला सचिव सुदर्शन मिश्र सहित दर्जनौँ जिल्ला तहका नेता कार्यकर्ता पनि (एमाले)मै फर्किएका छन् । यता पार्टीमा अध्यक्ष नेपालसँग मतभेद बढेसँगै नेता खनालको बेग्लै गुटले आकार लिन थालेको छ । जसलेसमाजवादीको हैषियतमात्र प्रष्ट भएको छैन भोगिरहेको संकट पनि छर्लङ बनेको छ । त्यसलाई व्यवस्थापनको गर्दै अघि बढ्न नेपालका लागि कम चुनौतीपूर्ण छैन ।