Breaking

३३ वर्षसम्म चोरले देश चलाएको भन्दै गर्जिए रमेश खरेल, जातीयता र आरक्षण उपेन्द्रको मुद्धा


काठमाडौँ — बारा निर्वाचन क्षेत्र नम्बर दुई मौसम जस्तै चुनावी माहोलले पनि गर्माएको छ । नेपाली राजनीतिमा परिचित र प्रभावशाली अनुहार उपनिर्वाचनका लागि प्रतिष्पर्धीको रुपमा मैदान उत्रने भएपछि देशको ध्यान नै त्यतै तिर मोडिएको छ । वैशाख १० मा हुने उपनिर्वाचनका लागि बारा २ मा मौसमी तापक्रमसँगै उपचुनावको माहोल पनि तातिदो अवस्थामा छ । उपनिर्वाचनका लागि ३३ जनाको उम्मेदवारी परे पनि चार पक्षीय भिडन्त हुन आँकलन गरिएको छ ।

२०६४ सालमा नै माओवादीबाट जितेर संसदीय यात्रा थालेका शिवचन्द्र कुशवाह चैत्र १५ गते जनमत पार्टीमा प्रवेश गरेका हुन् । मंसिर ४ को निर्वाचनमा पनि गठबन्धनको साहारामा माओवादीबाट चुनाव लडेका कुशवाह जनता समाजवादी पार्टीका नेता तथा हालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग ३५४ झिनो मतान्तरले पराजित भएका थिए । ५ दलसँग गठबन्धन गर्दा पनि हार्न पुगेका कुशवाह दोस्रोपटक संसद् यात्राका लागि कसरतमा छन् । उनलाई साथ दिन वा उनको चुनावी प्रचारप्रसारमा पार्टी अध्यक्ष नै सामेल भएका छन् ।

नेपाली राजनीतिका चतुर खेलाडी जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पनि बारा २ बाट नै पुनः संसद यात्राको तयारीमा छन् । मंसिर ४ मा सप्तरी २ मा सीके राउतसँग पराजित भएका उनी सदन प्रवेशका लागि बारा २ लाई सिँढी बनाउन खोज्दै छन् । यसअघि एमालेको सहयोगमा जितेको जसपालाई यस पटक भने कांग्रेस, माओवादी, लोसपा जस्ता पार्टीको साथ छ । सीके राउतको मधेशमा बढ्दै गएको लोकप्रियताले भारी पड्ने देखिए पनि आफ्नो प्रतिष्पर्धी कोही नदेखेका भन्दै जातीयता र आरक्षणलाई चुनावी मुद्धा बनाइरहेका छन् ।

अघिल्लो निर्वाचनमा जसपालाई सहयोग गरेको एमालेको तर्फबाट पुरुषोत्तम पौडेल उपचुनावमा होमिएका छन् । उप निर्वाचन उपेन्द्र यादव र सीके राउतको प्रतिष्ठाको विषय बनिरहेका बेला ओझेलमा परेका एमाले उम्मेदवार पौडेलले पनि मतदातासँगको भेटलाई तीव्रता दिएका छन् । लामो समयदेखि राजनीति गर्दै आएका पौडेल दुई पटक सदन प्रवेश गरिसकेका छन् । विभिन्न जिल्ला र ठाउँबाट पटक पटक हारेर जनताले अस्वीकार गरेकालाई बारा २ बासीले स्वीकार गर्न नसक्ने उनको भनाई छ ।

नेपाल सुशासन पार्टी निर्माण गरेर काठमाडौँ १ बाट ३१२४ मतसहित पराजित भई पाचौं भएका पूर्व प्रहरी डीआईजी रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीसँगै बारा पुगेका छन् । बाराको सीमावर्ती जिल्ला पर्सामा जिल्ला इन्चार्ज भएर काम गरेका खरेलको कामबाट उनी त्यस क्षेत्रमा परिचित छन् । तराई क्षेत्रसँग विशेष लगाव रहेको बताउने खरेल ३३ वर्षसम्म पाकेटमार, चोर, डाकाले चलाएको देशबाट अब यस्तालाई विस्थापित गर्नु पर्ने तर्क गर्छन् ।

एक लाख ५ हजारभन्दा धेरै मतदाता रहेको त्यहाँ यादव समुदायको मात्र झन्डै ३८ हजार मतदाता छन् । जातीयताका कारण पनि मत प्रभावित हुने त्यस क्षेत्रमा गत निर्वाचनमा ६२ हजार मत खसेको थियो । यो क्षेत्रमा जसपापछि सांगठानिक रुपमा कांग्रेस र एमाले बलिया रहेको गत निर्वाचनको समानुपातिक मतले देखाएको छ । उपेन्द्रलाई गठबन्धनको साथ, जनमतको बड्दो लोकप्रियता, स्थानीय पुरुषोत्तम अनि देशैभर रास्वपाले ल्याएको लहरले बारा २ को उप निर्वाचनमा कसले जित्छ अहिल्यै भन्न मुस्किल छ ।