Breaking

प्रधानन्यायाधीश चाँडो नियुक्त गर्न बारले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण


काठमाडौँ – नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनसहित कानून व्यवसायीहरुले प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराएका छन् ।

बिहीवार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनीहरुले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न ध्यानाकर्षण गराएका हुन् । बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल बार एशोसिएसनले ७ देखि १० दिनभित्र प्रधानन्यायाधीश नियुक्त नभए आन्दोलन गर्ने घोषणा गरेको थियो ।

प्रधानमन्त्रीलाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानमन्त्री संवैधानिक परिषदको अध्यक्षसमेत भएकाले तत्काल प्रधानन्यायाधीश नियुक्तिको पहल लिन ध्यानाकर्षण गराएको बताए । प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश नियुक्तिका लागि आफूले पहल गरिरहेको र चाँडै ठोस निस्कर्षमा पुग्ने बताएको पनि घिमिरेले जानकारी दिए ।

प्रधानन्यायाधीश नियुक्ति नहुँदा न्यायपालिकाको साख गिरेको महसुस गरेको र करिब १४ महिनादेखि कायममुकायम प्रधानन्यायाधीशबाट सर्वोच्च अदालत सञ्चालन गर्दा न्याय सम्पादनमा कठिनाइ भइरहेको बताए ।

महाभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा २०७८ फागुन १ गते स्वतः निलम्बित भएदेखि सर्वोच्च अदालत कायम मुकायमको भरमा छ ।