Breaking

तनहुँले काँग्रेसमा लफडा, जोशीको कदमले देउवा–गगन हार्दै, स्वर्णिमलाई सहज, सर्वेन्द्रमाथि काँग्रेसको कटाक्ष


काठमाडौँ — काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बन्दै शीतलनिवास प्रवेश गरेपछि रिक्त बनेको तनहुँ एकमा यसपटक त्रिपक्षिय भिडन्त हुँदैछ । नौं जनाको उम्मेदवारी परेपनि मुलतः काँग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले प्रमुख प्रतिस्पर्धी हुन् । मतका आधारमा गठबन्धनका उम्मेदवार बलियो देखिएपनि स्वर्णिमको तनहुँ प्रवेश र काँग्रेसको कारबाहीमा परेको गोविन्दराज जोशी समूहका कारण चुनौती बढेको छ ।

गठबन्धनकै भरथेक समर्थन पाएपछि तनहुँ १ मा मंसिर ४ को भारी मतान्तरलाई यथावत् राख्दै विरासत जोगाएर जित निकाल्न नेपाली काँग्रेस भरपुर कसरत गरिरहेको छ । तर गोविन्दराज जोशी नेतृत्वको स्वतन्त्र काँग्रेस अभियानको बाधा र स्वर्णिम वाग्लेको तनहुँ प्रवेशले काँग्रेस संकटमाथि सम्भावना खोजिरहेको छ । किनकि तनहुँ १ मा झण्डै ७ हजार मत भएको गोविन्दराज जोशी समूहले काँग्रेसलाई साथ दिएको छैन । उपनिर्वाचनका लागि कारबाही फुकुवाको आश्वासन र पटकपटक काँग्रेस नेताहरुबीच संवाद भएपनि जोशी काँग्रेस फर्किएर गोविन्द भट्टराईलाई समर्थन गर्ने पक्षमा छैनन् ।

झन बुधबार विज्ञप्तीनै जारी गर्दै जोशीले काँग्रेससँग वार्ताको ढोका बन्द भएको घोषणा गरेपछि भने काँग्रेस केन्द्रमा हलचल मच्चिएको छ । तनहुँमा रामचन्द्र पौडेलविरुद्ध गतिविधि चलाएपछि काँग्रेसको अनुशासन कारबाहीमा पारेका जोशीले त्यसयता आफ्नै समूह बनाएर उम्मेदवारी दिँदै आएका छन् । मंसिर ४ को निर्वाचनमा पनि आफै उम्मेदवार बनेका उनले तेस्रो मतका साथ हार ब्यहोरेका थिए । स्थानीय तहको निर्वाचनमा समेत एमालेको समर्थनमा आफ्नै छोरा दीपकलाई उम्मेदवार बनाए । गठबन्धनको समर्थन र आफ्नै बलियो विरासतका कारण काँग्रेस यहाँ जित निकाल्दै पनि आएको छ ।

तर यसपटक काँग्रेसकै नेता स्वर्णिम वाग्ले रास्वपा भित्रिएर उम्मेदवार बनेपछि यहाँको मतभार फेरिएको छ । उम्मेदवारहरुमध्ये पनि स्वर्णिमकै नाममा चर्चा र बहस बढी भएपछि काँग्रेस झस्किएको छ । फलतः देउवाले कुनैपनि हालतमा नचाहेका स्वर्णिमको समर्थन बलियो बन्दै गएको अवस्थामा जोशीलाई फकाएर जित निश्चित गर्न देउवा संवादमा बस्न तयार भए । जोशीका छोरा दीपकसँग देउवाको काठमाडौंमा संवाद भयो, महामन्त्री गगन थापा र प्रदीप पौडलसहित शंकर भण्डारी लगायतका नेताहरुले तनहुँमा पटकपटक संवाद गरे । तर जोशीको माग सुनुवाइमा काँग्रेस तयार भएन । जसले जोशीकै डरमा काँग्रेस परेको छ ।

जोशी नेतृत्वको समूहले देउवासँग कारबाही फुकुवापत्रसहित कुल मतमध्ये आफुसँग ३३ प्रतिशत रहेको भन्दै पार्टी पंक्तिदेखि भार्ती संस्थासम्म ३३ प्रतिशतकै हिस्सा खोजेको छ । देउवाले जोशीलाई केन्द्रीय सदस्य बनाउन तयार भएपनि पार्टी एकता गरेको जस्तो देखिने भन्दै अन्य नेताको व्यवस्थापनमा रुची देखाएनन् । फलतः जोशी भड्किएर विज्ञप्ती जारी गर्दै काँग्रेससँग संवादको अन्त्य भएको घोषणा गरेका हुन् । अब जोशीको समर्थन रास्वपाको स्वर्णिम वा एमालेका सर्वेन्द्र खनालमध्ये एकलाई हुने सम्भावना बलियो बनेको छ । किनकि काँग्रेसका गोविन्द भट्टराई जस्तै एमालेका खनाल र रास्वपाका स्वर्णिम वाग्ले जोशीसँग कुनै न कुनै माध्यमबाट निकट रहँदै आएका पात्र हुन् ।

तनहुँका भट्टराईले जोशीकै छत्रछायाँमा बसेर राजनीति भविष्य उठाएका हुन् । जोशी गृहमन्त्री हुँदा प्रहरी संगठनभित्र खनालले राम्रै अवसर पाएका थिए । पारिवारिक निकटता समेत रहेपछि स्वर्णिम पनि जोशीबाट आश गर्ने ठाउँमा छन् । झन काँग्रेसकै कोटाबाट पदमा पुगेर काँग्रेसविरुद्ध चुनावमा होमिएपछि स्वर्णिमविरुद्ध नेताहरु आक्रोशित छन् । स्वर्णिमलाई पढाउनेदेखि बढाउनेसम्मको काम काँग्रेसले गरेको र सर्वेन्द्र खनाललाई आइजी बनाउने काम पनि काँग्रेसले गरेको भन्दै नेताहरुले अवसरवादीको ट्याग लगाइरहेका छन् ।

दुई क्षेत्र रहेको तनहुँमा नेता व्यवस्थापनकै समस्या भएपछि प्रदीप पौडेल काठमाडौं ५ बाट निर्वाचित भएका थिए । तनहुँ १ का शंकर भण्डारी २ मा पुगेर निर्वाचित भएका थिए । तनहुँबाटै निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बने । तनहुँकै किशान श्रेष्ठको व्यवस्थापन गठबन्धनमा जटिल बनेपछि बारा ४ बाट निर्वाचित भए । दुई क्षेत्र रहेको तनहुँले एउटै निर्वाचन अवधिमा पाँच सांसद पाउने भएको छ । तथापी अहिलेको उपनिर्वाचन काँग्रेसको पल्लामा पर्ने सम्भावना कमजोर बन्दै गएपछि नेताहरु तनहुँ केन्द्रीत बनेका छन् । किनकि यहाँ काँग्रेसले हार्दा भट्टराईले मात्रै नभएर देउवा, आरजु र गगनहरुको प्रतिष्ठाले समेत हार्ने छ ।