Breaking

कांग्रेका हामीलाई स्पष्ट कुरा नगरी अलमल्यायो, अब बार्ता हुँदनै : गोविन्दराज जोशी


काठमाडौँ – नेपाली कांग्रेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले तनहुँ–१ को उपनिर्वाचनमा आफ्ना कार्यकर्तालाई स्वतन्त्र भएर मताधिकार प्रयोग गर्न आग्रह गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै जोशीले तनहुँका मतदाताहरू कसलाई मतदान गर्ने भन्ने विषयमा आफ्नो मताधिकार प्रयोग गर्न सक्षम रहेको बताए । ‘उप–निर्वाचनमा हाम्रो आधिकारिक उम्मेदवार नभएता पनि प्रजातन्त्रमा विश्वास गर्ने व्यक्तिले मतदान नगर्नु स्वाभाविक नभएको हुनाले तनहुँका मतदाताहरू कसलाई मतदान गर्ने भन्ने विषयमा आफ्नो मताधिकार प्रयोग गर्न सक्षम हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

२१औ शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने सक्षम , बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने योग्य उम्मेदवारको छनोट गरी आफ्नो मताधिकार प्रयोग गर्न तनहुँ – १ का मतदाताहरूलाई जोशीको अनुरोध छ । नेपाली कांग्रेसले वार्ता आफूलाई झुक्याउने काम गरेको भन्दै उनले कांग्रेससँग पहिलो चरणको वार्ता समाप्त भएको बताए ।
‘नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको वार्ता हामीलाई झुक्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौँ । आजदेखि नेपाली कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा समेत गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । चैत १९ मा कांग्रेसले गरेको निर्णयलाई पनि जालझेलपूर्ण र आफूहरूलाई अपमान गर्ने खालको दस्ताबेज रहेको ठहर गरेको वक्तव्यमा उल्लेख गरे ।

जोशीले भने, ‘नेपाली कांग्रेसको नामबाट मिति २०७९ चैत्र १९ गतेको आफूले विगतमा गरेका गल्ती प्रति आत्मालोचना गरेको अवस्थामा क्रियाशील सदस्य कायम रहने तथा २०८० साल वैशाख १० गते तनहुँ– १ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन क्रियाशील रहेमा क्रियाशील सदस्यता कायम रहने जस्ता वाक्यहरू राखी गरिएको वक्तव्य जालझेलपूर्ण र हामीलाई अपमान गर्ने खालको दस्ताबेज भएको ठहर हामीले गरेका छौँ । जसले गर्दा सो वक्तव्यलाई हामीले अस्वीकार गरेको छौ ।’

आफू लगायतको कारबाही फिर्ता भएको भनी कांग्रेसले झुटो प्रचार गरेको उनले बताए । उक्त वक्तव्यले कांग्रेस तनहुँको समस्या समाधान भन्दा थप बल्झाएको उनले बताए । कांग्रेसले चैत १९ गते केन्द्रीय कार्यसम्पादन समितिबाट जोशी लगायतका नेता कार्यकतामाथिको कारबाही फुकुवाको निर्णय गरेको थियो । जोशीले सत्य, न्याय र सामाजिक समृद्धिका लागि आफूहरूको लडाइँ नसकिएको पनि बताए ।