काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभाआजबाट सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा उद्घाटन गरिएको साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ । उद्घाटन सत्रमा उद्योगीहरुले उद्योग धन्दालाई बढवा दिन राज्यले दिर्घकालिन नीति लिनु पर्नेमा जोड दिएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी भएको बताएका छन् ।मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि निजी क्षेत्रले व्यापारमा मात्रै नभइ उद्योग व्यवसायमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
उनले मुलुकका हरेक संयन्त्रमा समस्या रहेको भन्दै सबैले सुधार गर्न आवश्यक रहेको बताए ।निजी क्षेत्रले उत्पादनमुलुक उद्योग व्यवसायमा लगानी केन्द्रित गरे सरकारले लगानीको वातावरण सहज बनाउनको लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन उपायहरुको व्यवस्था गर्ने अर्थमन्त्री महतको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले अवसर दिए निजी क्षेत्रले मुलुकमा सम्मुन्नति ल्याउने बताए ।उनले उद्योगी तथा व्यवसायीहरुबीचको सहकार्य सर्वसाधारण र सरकारको समुन्नतिका लागि हुनुपर्ने बताए । उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएको निराशा लामो समय नरहने आशा व्यक्त गरे । उनले तत्कालका लागि व्यवसायमा कठिन भएपनि व्यवसायीहरुले नै मुलुकमा सम्मुन्नति कोर्ने दाबी गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले वर्तमान अर्थतन्त्रको संकट समाधानको लागि बृहत राष्ट्रिय विमर्स गर्नुपर्ने आवश्यकता रहेको बताए ।ढकालले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्नुपर्ने धारणा राखे ।वरिष्ठ उपाध्यक्ष ढकालले सरकार, राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा वृहत राष्ट्रिय विमर्स गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउनुपर्ने बताए ।
साधारणसभाको उद्घाटन होटल याक एण्ड यतीमा आयोजना गरेको महासंघले निर्वाचन चाहीँ प्रज्ञा प्रतिष्ठान कमलादीमा गर्दैछ । नयाँ नेतृत्व चयन गर्दै साधारणसभा सम्पन्न हुने जनाइएको छ । यही साधारण सभाबाट महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुने छन् । भाबी अध्यक्षका लागि साधारण सभाले वरिष्ठ उपाध्यक्ष चयन गर्ने छ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको स्वतः अध्यक्ष हुने व्यवस्था छ । वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी र सदस्य चयन गर्न भोलि निर्वाचन हुँदै छ । नयाँ वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । तीनै जना प्यानलसहित चुनावी मैदानमा खडा भएका छन् ।
प्रतिक्रिया