Breaking

ढाकाकुमार श्रेष्ठको बयान: अडियोको आवाज मेरो होइन


काठमाडौँ — मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो टेप बाहिरिएको विषयमा सांसद् ढाकाकुमार श्रेष्ठसँग पार्टीको अनुशासन समितिले मंगलबार बयान लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले बसुन्धारास्थित पार्टी कार्यालयमा श्रेष्ठलाई बोलाएर एक घण्टा सोधपुछ गरेको हो । समितिका एक जना सदस्यका अनुसार, बयानमा उनले सार्वजनिक अडियोमा भएको आवाज आफ्नो नभएको जिकिर गरेका छन् । मलाई नियतवश फसाउन खोजिएको हो’, उनको दाबी उदृत गर्दै समिति स्रोतले भन्यो, ‘अडियो पूरै एडिटेड हो ।’ बयानका क्रममा उनले आफू लामो समयदेखि स्वास्थ्य क्षेत्रसँग जोडिएको भन्दै सुधार गर्नुपर्ने विषयहरु थुप्रै भएको बताएका छन् ।

समिति स्रोतका अनुसार सोमबार राति बुझाएको स्पष्टीकरणमा पनि उनले यिनै विषयहरु बुझाएका थिए । अडियो सार्वजनिक भएलगत्तै पार्टीले उनलाई निलम्बन गर्दै २४ घन्टे स्पष्टीकरण सोधेको थियो । मंगलबार राति उनले समितिलाई एक पृष्ठको स्पष्टीकरण बुझाएका थिए । त्यसमा स्वास्थ्य क्षेत्रका विसंगतिहरु उल्लेख गर्दै आफूलाई फसाइएको दाबी गरेको रास्वपा स्रोतले जनाएको छ । उनले समितिको निर्णय आफूलाई स्वीकार्य हुने पनि उल्लेख गरेका छन् । स्वास्थ्यमन्त्री बन्न पार्टीमा बुझाउनुपर्ने भन्दै उनले झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो । ‘मन्त्री बनेपछि सहयोग गर्ने’ भन्दै रकम मागेको प्रसाईंले दाबी गरेका छन् ।