Breaking

सरकारी प्रतिनिधि र मिटरब्याज पीडितबीच आज तेस्रो दिन पनि वार्ता


काठमाडौँ – न्याय माग गर्दै विभिन्न जिल्लाबाट केन्द्रीय राजधानी आएका मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आज तेस्रो दिन पनि वार्ता जारी रहने भएको छ ।

मिटरब्याजपीडितको वार्ता टोलीका सदस्य नीर्ग नवीनका अनुसार आजको वार्ता पनि बिहान ११ बजेपछि गृह मन्त्रालयमै हुनेछ । मिटरब्याजपीडित र सरकारी टोलीबीच आइतबारदेखि लगातार वार्ता भइरहेको छ । तर यो वार्ताले परिणाम दिने सम्भावना नरहेको उनको भनाइ छ ।

वार्तासँगै आजदेखि शान्ति वाटिकामा धर्ना पनि सुरु गरिने जानकारी नवीनले दिए । उनका अनुसार वैशाख १ गते तराईवासीको चाड परेकाले घर फर्किरहेकाले अहिले काठमाडौँमा २ सय जना मात्र बाँकी रहेको उनले बताए । उनका अनुसार आज थप पीडितहरू पनि घर जानेछन् । ‘धर्नामा हामी सय जना बस्छौँ’, उनले भने ।

तर अहिले चाडका लागि घर फर्किएकाहरू वैशाख ४ गते पुनः काठमाडौँ आउने र हजार जनाजति भेला भइने उनको भनाइ छ । काठमाडौँ आएको मिटरब्याजपीडित यो टोली दोस्रो हो । यसअघि महोत्तरीबाट ११ दिन हिँडेर मिटरब्याजी पीडितको टोली आएको थियो । उक्त टोली भने सरकारसँग पाँचबुँदे सहमति गरेर फर्किएको छ । त्यो सहमति फितलो भएको भन्दै दोस्रो टोली काठमाडौँमा वार्तासँगै संघर्ष गरिरहेको छ ।