Breaking

ढाकाकुमारको ‘अडियो प्रकरण’बारे छलफल गर्न रास्वपाको बैठक बस्दै


काठमाडौँ – आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको ‘अडियो प्रकरण’ बारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक बस्दैछ ।

रास्वपाले मंगलबार बिहान ११ बजेका लागिअनुशासन आयोगको बैठक बोलाएको हो । पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकले श्रेष्ठबारे निर्णय गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ ।

रास्वपा अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार श्रेष्ठले सोमबार नै स्पष्टीकरण बुझाइसकेका छन् । स्पष्टीकरणमा उनले आफूलाई जोडेर आएको अडियो नक्कली भएको दाबी गरेका छन् ।

अडियो सार्वजनिक भएलगत्तै आइतबार उनले एक विज्ञप्तिमार्फत आफूमाथि षड्यन्त्र भएको बताएका थिए । उनले यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए । पार्टीले भने छानबिनको निर्णय गर्दै उनलाई निलम्बन गरिसकेको छ । श्रेष्ठ समानुपातिकतर्फबाट रास्वपाका सांसद बनेका हुन् ।