Breaking

तरकारीको विषादी परीक्षणको निर्णय फिर्ता भएको छैन : उपप्रधानमन्त्री श्रेष्ठ


काठमाडौँ – उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयातित तकारीको विषादी परीक्षण गर्ने निर्णय मन्त्रिपरिषद्ले फिर्ता लिएको भनेर गलत प्रचार भएको बताएका छन् ।

आयातित तरकारीको विषादी परीक्षण नगर्ने भनेर मन्त्रिपरिषदले निर्णय नगरेको उनको भनाइ छ ।

प्रेस सेन्टर चितवनले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले विषादी परीक्षणजस्तो महत्वपूर्ण विषयमा मन्त्रीहरुले मात्र निर्णय गर्न नहुने भनेर विषयगत समितिमा पठाइएको जानकारी दिए ।

‘मन्त्रिपरिषद्ले फिर्ता गरेको छैन । मन्त्रिपरिषद्ले त्यो विषय समितिमा पठाएको छ । यस्तो महत्वपूर्ण विषय मन्त्रीहरुले एकछिन आएर ल ठिक छ वा बेठिक छ भन्न मिल्दैन,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘सम्बन्धित समितिमा पठाउनु आवश्यक थियो ।’

यसअघि समितिहरु गठन नहुँदा निर्णय हुने स्थिति नभएको भन्दै उनले अहिले समिति गठन भइसकेकाले यो विषय छिटो टुंगो लाग्ने बताए । ‘सम्बन्धित समितिले छलफल गरेर टुंगो लगाउँदैछ । त्यो छिटो हुन्छ,’ उप्रधानमन्त्री श्रेष्ठले भने, ‘पहिलो प्राथमिकतामा राख्या छ ।’
तरकारी तथा फलफूलको विषादी परीक्षण स् न पूर्वाधार, न प्राविधिक
उनले सीमा क्षेत्रबाट हुने तरकारी र पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न सुरक्षा निकायलाई कडा निर्देशन दिइएको जानकारी पनि दिए । अहिले अर्थतन्त्र शिथिल हुनुको कारण अवैध ढंगले हुने आयात हो कि माग कम भएर हो भन्ने निष्कर्षमा पुग्न बाँकी रहेको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘जति हदसम्म अवैध आयातका कारणले गर्दा समस्या भएको छ त्यो पूरै समाधान गरिन्छ । त्यसबारे आवश्यक कडा निर्देशन गइसक्या छ ।’

अर्को एक प्रसंगमा उनले रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भनिएको अडियो प्रकरणको अनुसन्धान हुने पनि बताएका छन् ।