पर्यटन

फ्रान्समा हिमपहिरो जाँदा ४ जनाको मृत्यु


काठमाडौँ – फ्रान्सको आल्प्स पर्वतमा हिमपहिरो जाँदा चार जनाको मृत्यु भएको छ । आइतबार दिउँसो दक्षिण-पूर्वी फ्रान्सको मोन्ट ब्लांक नजिकैको आर्मान्सेट ग्लेसियरमा यो घटना भएको हो ।

उक्त घटनामा दुई पर्वतारोही गाइडको मृत्यु भएको स्थानीय उपमेयरले पुष्टि गरेको बीबीसीले जनाएको छ । दुई जना अझै बेपत्ता रहेका र घाइते भएका थुप्रै व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ । पहाडको टुप्पोमा रहेको हिउँको एउटा खण्ड टुक्रिएर झर्दा हिमपहिरो गएको बताइएको छ ।

हिमपहिरोमा परेका मानिसहरुसम्म पुग्न उद्धार टोली दिनभर खटिएको थियो । हिमपहिरोमा पर्नेहरू अधिकांश ब्याककन्ट्री स्किइंग गर्नेहरु रहेको अधिकारीहरुले बताएका छन् ।

बेपत्ता भएका दुई जनाको सोमबार पनि खोजी जारी रहने बताइएको छ । अधिकारीहरुले उक्त क्षेत्रमा अर्को हिमपहिरो फेरि जान सक्ने सम्भावना रहेको जनाएका छन् । यसअघि सन् २०१४ मा यस्तै किसिमको हिमपहिरोमा परी दुई दाजुभाइको मृत्यु भएको थियो ।