Breaking

लेखराज भट्टको घरमा पुगे प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल कैलालीको गोदावरी नगरपालिका-१ अत्तरियास्थित नेकपा एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको निवासमा पुगेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्न आइतबार धनगढी ओर्लिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल एमाले सुदूरपश्चिम इन्चार्ज भट्टको निवासमा पुगेका हुन । भर्खरै भट्टको निवासमा पुगेका दाहाल चिया नास्ता गरेर त्यहाँबाट सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त कार्यक्रममा सहभागी हुनेछन् ।

एमाले सुदूरपश्चिम इन्चार्ज भट्टका स्वकीय सचिव हितेश ओझाका अनुसार प्रधानमन्त्री दाहाल चिया नास्ता गरेर निस्किने तयारीमा रहेका छन् । भट्ट माओवादी पृष्ठभूमिका नेता हुन । कुनै बेला सुदूरपश्चिममा प्रचण्डका विश्वास पात्र मानिने भट्ट र दाहालबीच अहिले त्यति राम्रो सम्बन्ध छैन । तत्कालीन नेकपा विघटनपछि भट्ट एमालेमै बसेका थिए ।

माओवादीमा हुँदा भट्ट स्थायी कमिटी सदस्य र सुदूरपश्चिम इन्चार्ज थिए । भट्ट माओवादीमा रहेका बेला दाहाल सुदूरपश्चिमा आउँदा उनको घरमा पुग्ने गरेका थिए । भेटघाट गरेर खाना खाएर जाने गरेका थिए । तर वि.सं. २०७५ पछि सम्बन्ध चिसिएपछि दाहाल भट्टको घरमा आएका थिएनन् ।

तत्कालीन नेकपाको धुव्रिकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको कित्तामा उभिएका भट्टलाई दाहालले धनगढीको एक सभामा होच्याएर बोलेका थिए । त्यसपछि उनीहरुबीचको सम्बन्ध झनै चिसिएको थियो ।