Breaking

देश टाट पल्टिदै गर्दा सत्तामा असन्तुष्टि, अर्थमन्त्रीसँग पूर्णबहादुरको फरकमत (भिडियोसहित)


काठमाडौँ – राजनीतिक अस्थिरता र नाजुक बन्दै गएको देशको राजनीतिक अवस्थाले आम जनतालाई चिन्तित बनाइरहेको छ । तर सरकार सञ्चालनको नेतृत्वमा रहेका पात्रहरुमा कुनै गाम्भीर्यता र सुधारको इच्छाशक्ति देखिन्न ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन राजनीति र भागबण्डामा खर्चिएको समय देशको भविष्यका लागि खर्चिएको भए, सरकार सञ्चालनका सयदिनसम्म सकारात्मक सूचक देखिसक्थे ।तर प्रचण्ड नेतृत्व सरकारले तीन महिनामा दुईवटा गठबन्धन फे¥यो, दुईवटै न्यूनतम साझा कार्यक्रम ल्यायो । उस्तै दस्तावेजमा हस्ताक्षर र दलको संख्यामात्रै फेरिएको न्यूनतम साझा कार्यक्रम तत्काल देशलाई टाट पल्टाउन रोक्ने नीतिबाट चुक्यो ।अब गठबन्धन र सरकारमै आवद्ध भएका नेताहरु पनि स्पष्ट भइसके, ‘देश टाट पल्टिने बाटोमा छ ।’

प्रचण्ड नेतृत्वको सरकारकै पालामा देश टाट पल्टिदैछ भन्नु माधवकुमार नेपालका लागि आवश्यक थिएन । तर देशको अवस्था ठिकठाक छैन र सुधारको संकेत पनि छैन भन्ने विश्वस्त भइसकेपछि सत्तावादीबाटै चिन्ताजनक अभिव्यक्ति आउन थालेका हुन् । जस्तो कि, शुक्रबारमात्रै नेपाली काँग्रेसका महामन्त्री गगन थापालेदेश यो अवस्थामा हुँदा पनि प्रधानमन्त्री र मन्त्रीलाई फुर्सद भएको देखेर छक्क परेका थिए ।

अहिले सबैभन्दा ठूलो संकट अर्थतन्त्रमा छ । तरलता अभाव र राजस्व संकुचनले समग्र बजार सुस्ताएको छ ।सहकारी जति सबै टाट पल्टिएका छन् । संकटमा रहेका लघुवित्तहरु डुबेका छन् र नागरिकको पैसा पनि डुबाएका छन् । बैंकहरु सबै डराएका छन् । आर्थिक अराजकता मच्चिने डरले अर्थतन्त्र नै तहसनहस हुने अवस्थामा छ ।तलब खुवाउने अवस्था पनि अन्त्य हुँदै गएको भन्दै सरकारकै उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले गम्भीर अनिष्टको संकेत गरेका छन् ।

यस्तोबेला अर्थको बागडोर सम्हाल्न आएका व्यक्तिको अनुहार हेरेकै भरमा सेयरबजारको साढे उकालो चड्नुपर्ने हो ।तर अर्थमन्त्रीको कुर्सीमा प्रकाशशरण महत बसेको एकसाता वित्यो, कुनै सूचकमा फेरबदलको संकेत देखिएन् ।तथापी राष्ट्र बैंकले समष्टिगत माग घटाउने लक्ष्य अघि सारेको छ । यस्तो बेला राष्ट्र बैंक र अर्थमन्त्रीबीचको तदम्यता मिलेन भने जुनसुकै बेला पनि मुलुक आर्थिक सटडाउनमा जान सक्छ ।

देश अहिले ऋणमा चलिरहेको छ । नेपालको सार्वजनिक ऋणमात्रै २० खर्ब ७ अर्ब ८४ करोडमाथि छ । त्यसैले देश टाट पल्टिनु धेरै परको कुरा भएन । सही नीति र नेतृत्वले काम गर्न नसके वैदेशिक ऋण तिर्न नसकेकै कारण देश टाट पल्टिने हो ।तर देश चलाउनेहरुलाई मस्ती छ, दिनहुँ बालुवाटारमा भागबण्डा र सत्ता हानाथापमै सरकारले समय गुजारिरहेको छ । फलतः देशको राजनीति थीति नफेरिएसम्म अवस्था फेरिने विषयमा विज्ञहरु विश्वस्त छैनन् ।

देशको अर्थतन्त्र नै केही व्यक्तिको कब्जामा छ । राजस्वले चालु खर्च धान्न सक्ने अवस्था छैन । सन् १९१५ को समय चीन अहिलेको नेपाल भन्दा पनि कमजोर अवस्थामा थियो । तर त्यहाँका शासकको इच्छाशक्तिले चीन अहिले विश्वकै शक्तिशाली अर्थ भएको देश बनेको छ । फलतः शासक सुधार नभएसम्म देशको भविष्य सुधार हुने आश हाललाई मारिदिएपनि हुन्छ ।