Breaking

सडकपेटी र सडकमा पर्ने प्रहरी बिट भत्काउन बालेनको आग्रह


काठमाडौँ – महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले काठमाडौं महानगरपालिका क्षेत्रभित्र सडकपेटी र सडकमा पर्ने प्रहरी बिट भत्काउन आग्रह गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत उनले नेपाल प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताए। उनले ती संरचना प्रहरीले आफै हटाइदिन आग्रह गरेका छन्। अन्यथा समतामूलक कानूनको प्रयोग गरी संरचना भत्काउन बाध्य हुने चेतावनी उनले दिएका छन्।

‘फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ। यो नियम सर्वसाधारणका लागि मात्रै होइन, सबैका लागि हो र हुनु पर्छ,’उनले भनेका छन्, ‘कानून कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ। त्यो संरचना प्रहरी आफैले हटाउनुहोला।’

उनले महानगरपालिकाभित्र १९ प्रहरी बिटले बाटोमा संरचना बनाएको भन्दै विस्तृत जानकारी पनि राखेका छन्।

यस्तै उनले राजदूतावासलगायत विदेशी नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेको पनि बताएका छन्।