Breaking

तुरिया नदीबाट अवैध रूपमा ढुंगागिट्टी उत्खनन हुने क्रम बढ्यो


काठमाडौँ – चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा ढुंगागिट्टी उत्खनन हुने क्रम बढ्न थालेको छ ।

हरेक दिन चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा उत्खनन हुँदासमेत कारबाही हुन नसकेको भन्दै स्थानीयहरुले बिरोध जनाएका हुन् । कारबाही गर्ने जिम्मेवार निकाय स्थानीय तह, वन कार्यालय र प्रहरी प्रशासन एक–अर्कालाई दोष लगाएर पन्छिँदा उत्खननको क्रम झनै बढ्दै गएको छ । तुरिया नदीबाट ढुंगागिट्टी उत्खनन गर्न गिरोह नै सक्रिय भएको स्थानीयहरु बताउँछन् । नदीको आडैमा थुपारेर राखिएको ढुंगागिट्टी, बालुवा, मिसकट रातदिन उत्खनन गरी अन्यत्र लैजाने गरेको पाइएको हो ।

चुरे क्षेत्रको पानभर र तुरिया खोलाबाट ट्याक्टरमा ढुंगागिट्टी, बालुवा, मिसकट निकासी गरेर तुरियास्थित नदीको आडैमा ठूलो परिमाणमा संकलन गरिएको र यसरी उत्खनन हुँदासमेत स्थानीय सरकार मौन रहेको स्थानीयहरुको गुनासो छ ।

प्रहरीले केही व्यक्तिलाई पक्राउ गर्दा नगरप्रमुखले आफ्नो मान्छे हो भन्दै छोड्न दबाब दिएको बताउने गरेका छन् । नदी छेउमा अनुमति बिना ढुंगागिट्टी संकलन गर्न पाइँदैन । सुनवल नगरपालिकाले चुरेक्षेत्रका खोला तथा नदीबाट ढुंगा निकासी गर्न रोक लगाएको दाबी गर्दै आएपनि नदी उत्खनन रोकिएको छैन ।