Breaking

काँग्रेसमा शेखरविरुद्धै गगन, देउवाले दिएनन् भाउ, सरकारमा जान हानाथाप,सरकारमा विस्तारमा असन्तुष्टि


काठमाडौँ — सातौंपटक मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री प्रचण्डले अझै ६ मन्त्रालय रिक्त बनाएका छन् । गठबन्धनभित्रका दलहरुबीच आन्तरिक भागबण्डा नै जटिल बनेपछि प्रधानमन्त्रीलाई सरकार विस्तार सकसपूर्ण बनेको हो । काँग्रेसभित्रको भागबण्डा विवादले सरकार विस्तारलाई पूर्णता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डअसफल भएका छन् । पुस ११ मा प्रधानमन्त्रीको सपथ खाएका प्रचण्डले तीनमहिनापछि सातौंपटकको प्रयासमा सरकार विस्तार गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिन खोजेका थिए । तर काँग्रेसभित्र सभापति देउवा र संस्थापनइतरको नेतृत्व गरेको शेखर समूहबीच भागबण्डाको विवाद चर्किएपछि सरकार अपूर्ण बनेको छ ।

गठबन्धनबाट नेपाली काँग्रेसले सबैभन्दा बढी आठ मन्त्रालय पाएको छ । तर सभापति देउवाले शेखर समूहलाई मात्र दुई मन्त्रालय दिएर बाँकी आफ्नै समूहलाई राखे । जसलाई सम्मानजनक सहभागिता नभएको भन्दै शेखर समूह विरोधमा उत्रियो । फलतः चैत १७ मा सपथ खान तयार भएका धनराज गुरुङ र डिगबहादुर लिम्बुलाई रोक्दै यो समूह सरकारमै सहभागि भएन । देउवाले पनि विवाद चर्किने प्रक्षेपणकै आधारमा ४ मन्त्रीमात्रै सरकारमा पठाए । जसले काँग्रेसको भागमा परेका परराष्ट्र, स्वास्थ्य, कानुन र खेलकुद मन्त्रालय नेतृत्वविहिन बनेका छन् ।देउवा शेखर समूहलाई दिएर मनाउनेभन्दा गलाएर विवाद मिलाउने पक्षमा छन् ।

धनराज गुरुङ र डिगबहादुर लिम्बुलाई सरकारमा पठाउन तयार भएका शेखरलाई रोक्दै गगन थापाले बद्री पाण्डे र जीवन परियारलाई अघि सारे । यता विश्वप्रकाशको समेत रोजाई बनेपछि प्रदीप पौडेललाई पनि सरकारमा पठाउन गगनको कोशिस रह्यो ।झण्डै ५ जना आकांक्षी शेखर–गगन समूहमै देखिएपछि व्यवस्थापनको विषय जटिल बन्दै गएको छ ।आफुले नपाए कित्ता फेरबदलकै धम्की यो समूहकाआकांक्षीहरुले दिन थालेका छन् । तर देउवा तीन मन्त्रालय पनि दिन तयार छैनन् । सहमति नभएसम्म सरकारमा नजाने र नाम पनि नपठाउने शेखर समूहको अडानले सजिलै सरकार विस्तार हुन दिएको छैन ।

झन उद्योग मन्त्रालय नपाएपछि जनमत पार्टीले सरकार छोडेको छ । यसर्थ खानेपानी मन्त्रालय पनि खाली छ । देउवाले त्यसमा पनि दाबी गर्दै शेखर समूहलाई मिलाउन खोजेका छन् । तर प्रधानमन्त्री प्रचण्डले त्यो मन्त्रालय आफैसँग राख्न खोजिरहेका छन् ।यता प्रभु साह नेतृत्वको आम जनता पार्टीलाई समेत सरकारमा सहभागी गराउने सहमति पुरा भएको छैन । जसपाले पाएको दुई मन्त्रालयमध्ये एक मन्त्री पठाएको छैन ।

उपनिर्वाचनमा होमिएका अध्यक्ष उपेन्द्र यादव चुनाव जितेर आफै सरकार जाने मनस्थितिमा छन् । यता सजिलै काँग्रेसबाट नाम जाने सम्भावना पनिछैन । फलतः प्रधानमन्त्री प्रचण्डले एक दुईदिनभित्रै सरकारले पूर्णता पाउने बताएपनि उपनिर्वाचन परको समय कुर्नुको विकल्प छैन ।