Breaking

तनहुँ भिडन्त बन्दैछ चर्को, काँग्रेस पल्टाएर स्वर्णिम रोक्न मुस्किल, जोशी फकाउँदै देउवा, को बलियो ?


काठमााडौँ — तीन उपनिर्वाचन क्षेत्रमध्ये तनहुँ १ निकै चर्चामा छ । यहाँ तीन ठूला उम्मेदवारबीच कडा प्रतिपस्पर्धा हुँदैछ । तर जित केही प्रभावशाली व्यक्तिको समर्थन जता ढल्कीयो उतै पल्लाभारी हुने देखिएको छ । काँग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति बन्दै शीतलनिवास छिरेपछि रिक्त बनेको तनहुँ एकमा यसपटक त्रिपक्षिय भिडन्त हुँदैछ ।नौं जनाको उम्मेदवारी परेपनि मुलतः काँग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्ले मैदानका मुख्य प्रतिस्पर्धी देखिएका छन् तर जित्न कसैलाई सहज छैन ।

गठबन्धनकै समर्थन पाएपछि मंसिर ४ को भारी मतान्तरलाई यथावत् राख्दै विरासत जोगाएर जित निकाल्नेमा काँग्रेस ढुक्क देखिन्छ । तर काँग्रेसका लागि सबैभन्दा भारी गोविन्दराज जोशी बन्दैछन् । जोशी पूर्वगृहमन्त्री र काँग्रेस नेता हुन् । तर रामचन्द्र पौडेलविरुद्धगतिविधि चलाएपछि काँग्रेसले अनुशासनको कारबाही गरेको थियो । जुन गत मंसिर ४ को निर्वाचनसम्मै कायम रहेपछि जोशीले आफ्नै टीम खडा गरि काँग्रेसविरुद्धै उम्मेदवारी दिएर झण्डै सात हजार मत ल्याएका छन् । जुन मत नै अहिलेका उम्मेदवारले जित्ने निर्णायक मत हो ।

फलतः काँग्रेसले कारबाही फुकुवाको आश्वसन दिएर जोशीसँग संवादको सुरुआत गर्न खोजेको छ ।जोशीले चलाएको स्वतन्त्र काँग्रेस सुधार अभियानलाई पनि देउवाले काँग्रेसमै गाभ्न चाहेका छन् । तर यसलाई चुनावी अस्त्रकै रुपमा बुझेका जोशीले काँग्रेसकै भट्टराईलाई समर्थनदिने सम्भावनामाथि कैची चलेको छ । यसैकारण जोशीकै मतको बलमा एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्ले पनि जित खोजिरहेका छन् ।

रामचन्द्र पौडेललाई च्याप्नकै लागि देउवाले आफुलाई अन्याय पारेको बुझेपछि काँग्रेसबाट विद्रोही बनेका जोशीको मत भर्खरै विद्रोह गर्दै रास्वपा छिरेका स्वर्णिमले प्रयोग गर्न खोजिरहेका छन् । पारिवारिक निकटताका कारण पनि जोशीको समर्थन पाएर काँग्रेससँग बद्ला लिने स्वर्णिमको सपना छ । तर गत बैशाख ३० को स्थानीयतह निर्वाचनमा एमालेकोसमर्थन पाएका जोशीले गुण तिर्नकै लागि सर्वेन्द्रलाई समर्थन गर्ने सम्भावनामाथि एमाले खेलिरहेको छ ।यद्यपी काँग्रेसका भट्टराई जोशीकै छत्रछायाँमा उदाएको भन्दै समर्थन पाउने आश देखाइरहेका छन् ।

जोशीकै जस्तो अर्काे निर्णायक मत नेकपा एकीकृत समाजवादीसँग किशान श्रेष्ठसँग पनि छ । जसले हारजितको सम्भावनामाथि भूमिका खेल्नेछ । यसअघि मंसिर ४ को निर्वाचनमा गठबन्धनकै लागि रामचन्द्रलाई समर्थन दिएर आफु बारा ४ मा गएर जित निकालेश्रेष्ठलाई अहिले रास्वपाका स्वर्णिम र एमालेका सर्वेन्द्रले भेटेर समर्थनको आग्रह गरेका छन् । बालुवाटारले काँग्रेसका भट्टराईलाई बल दिइरहेका बेला विरामी भएर आराममा रहेका श्रेष्ठको मतपाए उम्मेदवारलाई पनि आराम हुनेछ ।

एमालेका सर्वेन्द्र र रास्वपाका स्वर्णिमसँग समाजवादीका किशान श्रेष्ठको भेटभएपछि गठबन्धनभित्र शंका उब्जीएको छ । तथापी उपनिर्वाचनमा उम्मेदवारविहिन भएका माओवादी र समाजवादीमा उत्साह छैन । अरुका उम्मेदवारले हार्नु र जित्नुमा तात्विक फरक पर्नेछैन ।झन यसअघि देखि नै समाजवादीले तनहुँ १ मा आफ्नै उम्मेदवार उठाउन चाहेको थियो । एमालेका पृथ्वीसुब्बा गुरुङसँग संवाद गर्दै समाजवादीका नेताहरु पार्टी फुटाएरै उम्मेदवार बन्न तयार रहेको विषयले झनै झस्काएको थियो ।

तथापी एमाले अध्यक्ष ओलीले काठमाडौं ६ मा हारेका सर्वेन्द्रलाई गृहजिल्ला तनहुँमै पठाएर संसद छिराउन चाहेपछि हाललाई त्यो सम्भावना नभएपनि समाजवादीको भोटले निकै अर्थ राख्नेछ । सर्वेन्द्र अहिले काँग्रेसको मत पनि बाँडिने र जित आफ्नै हुने बुझाइमा छन् ।तर काँग्रेसका भट्टराईलेआफुले त्याग र तपस्याको राजनीति गरेको भन्दै काँग्रेसलाई एकढीक्का बनाएर जाने चुनौती उठाएका छन् । उनलाई चुनाव जिताउन देउवाले महामन्त्री गगन थापालाई तनहुँ झारेका छन् ।

तनहुँमा १ मा टिकट नपाएर काठमाडौं ५ बाट निर्वाचित भएका प्रदीप पौडेल र तनहुँ २ निर्वाचित भएका शंकर भण्डारी पनि भट्टराईको जित खोजिरहेका छन् । तर स्वर्णिमसँगै काँग्रेस छोडेका नेताहरुको व्यवस्थापन गर्नु उनीहरुका लागि कम्ता चुनौतीपूर्ण छैन । झन रास्वपाको उभार र रविको लोकप्रियतालाई ‘क्याच’ गर्दै उम्मेदवार बनेका स्वर्णिमले तनहुँमै रविलाई झारेका छन् । रविले पनि स्वर्णिमलाई जिताउने आफ्नै क्षेत्रको घरदैलो कम गरि तनहुँमाथिसमेत सक्रियता बढाएका छन् ।फलतः बौद्धिक उम्मेदवारको छबिसहितस्वर्णिम बलियो उम्मेदवार बनेका छन् ।

तथापी मंसिर ४ को निर्वाचनमा रास्वपाले ६ हजार ३२ मत मात्रै ल्याएको छ । काँग्रेसका रामचन्द्रले २५ हजार ३ सय १३ ल्याएर जित निकाल्दा उनीहरुबीच १९ हजार २ सय ८१ मतान्तर थियो । एमाले भने झण्डै ५ हजार मतले मात्रै पछि थियो । यसर्थ गठबन्धनको मत थोरै पनि तलमाथि भए एमालेका सर्वेन्द्रको सम्भावना बलियो छ । तर आफ्नो व्यक्तिको प्रभाव र काँग्रेसको मत पनि आउने विश्वासले स्वर्णिम यसपटक जित निकालेरै छोड्ने मिसनमा छन । तर गठबन्धनको मतले ढुक्क बनेका भट्टराई विगतको मत बचाएमात्रै जितिने भएपछि अरुभन्दा आफुलाई बलियो ठानिरहेका छन् ।