Breaking

रविको राहदानी मुद्दा न्यायाधीश फुँयालको इजलासमा


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी (पासपोर्ट) दुरूपयोग कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता मुद्दा हरिप्रसाद फुँयाल एकल इजलासमा पेसी तोकिएको छ ।

आठौँ नम्बरमा पेसी रहेको यो मुद्दा आज भने सुनुवाइ हुने सम्भावना छ । यसअघि मंगलबार पनि पेसी तोकिएको थियो । तर न्यायाधीश अनिलकुमार सिन्हाले यो मुद्दा हेर्न नमिल्ने भन्दै सुनुवाइ नगरेपछि आजलाई पेसी सरेको हो ।

सुनुवाइ सुरू गर्न लाग्दा सिन्हाले यसअघि संवैधानिक इजलासमा रहेर आफूले रविको मुद्दा हेरेकाले अन्य न्यायाधीशकहाँ पेसी तोक्न आदेश दिएका थिए ।

न्यायाधीश फुँयाल यसअघि नागरिकता मुद्दाको सुनुवाइमा संलग्न थिएनन् । सिन्धुलीका युवराज पौडैल ‘सफल’ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको हो । रिटमा उत्प्रेषण, परमादेश लगायत जे-जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनी माग गरिएको थियो । रविविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो ।

यसअघि राहदानी दुरुपयोसम्बन्धी मुद्दा प्रहरी र सरकारी वकिल कार्यालयले नचलाउने निर्णय गरेका थिए । मुद्दा नचलाउने निर्णयविरुद्ध सफलले महान्यायाधिवक्ताको कार्यालयलाईसमेत विपक्षी बनाएर रिट हालेका थिए ।

रवि लामिछाने २०७० फागुन ९ मा अमेरिकी नागरिक भएका थिए । अमेरिकी राहदानी रहेका र अमेरिकी नागरिक हुँदा हुँदै नेपाली राहदानी २०७२ जेठ १३ गते लिएका थिए ।

उक्त प्रकरणमा रविलाई कारबाही गरी पाउन मागसहित सफलले गत माघ १७ मा जाहेरी दिएका थिए । लामिछानेले पनि नेपाली नागरिकता लिएको बयानका क्रममा स्वीकार गरेका थिए ।

नेपालमा दोहोरो नागरिकताको प्रणाली नभएको र विदेशको नागरिकता प्राप्त गरेपश्चात् नेपाली नागरिक कायम नहुने व्याख्या भएको निवेदनमा उल्लेख थियो ।

गत मंसिरको चुनावमा चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भई गृहमन्त्रीसमेत बनेका लामिछानेको पद नागरिकता मुद्दाका कारण गुमेको थियो ।

त्यसपछि नागरिकता लिई पुनः उम्मेदवारी दिएका बेला लामिछानेविरूद्धको राहदानी दुरूपयोगमा कारबाही माग गर्दै सर्वोच्चमा मुद्दा परेको हो ।