Breaking

उपनिर्वाचन : उम्मेदवारहरूको नामावली आज प्रकाशन गरिँदै


काठमाडौँ – आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि उम्मेदवारी दिएकाहरूको नामावली आज प्रकाशन गरिँदै छ ।

निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म उम्मेदवारी र त्यसविरुद्ध परेका उजुरीको जाँचबुझ गर्नेछ र आजै साँझ ६ बजेभित्र उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ ।

तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ । त्यसका लागि सोमबार तीनै क्षेत्रमा उम्मेदवारी दर्ता गराइएको थियो । उम्मेदवारहरूविरुद्ध उजुरीका लागि मंगलबार समय छुट्याइएको थियो ।

यस क्रममा चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेविरुद्ध चारवटा उजुरी परेका छन् । सोअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले रविलाई आज दिउँसो १ बजेभित्र स्पष्टीकरण पेस गर्न भनेको छ ।

बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ताका लागि आयोगले समय तोकेको छ । सोही दिन दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । अन्तिम नामावली प्रकाशन भएपछि उम्मेदवारले चुनाव चिह्न पाउनेछन् ।

गत मंसिर ४ को चुनावमा तनहुँ–१ बाट प्रतिनिधिसभा निर्वाचित तत्कालीन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा–१ बाट निर्वाचित तत्कालीन जसपा नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि र चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भई गृहमन्त्रीसमेत बनिसकेका रास्वपा सभापति रवि लामिछाने नागरिकता प्रकरणका कारण पदबाट हटेपछि ती क्षेत्र रिक्त भएका हुन् । त्यसैले वैशाख १० गते ती तीनै क्षेत्रमा उपनिर्वाचन गरी पुनः प्रतिनिधिसभा सदस्य चयन गर्न लागिएको हो ।