Breaking

शेखर-गगन समूहको छुट्टै सांसदको बैठक बस्दै


काठमाडौँ – नेपाली कांग्रेसको शेखर कोइराला गगन थापा समूहले आफू पक्षीय सांसदको बैठक बोलाएको छ । पार्टीभित्र मन्त्रालय भागबण्डामा विमति जनाएर मन्त्रीको नाम नपठाएको उक्त समूहले आज सांसदहरूसँग छलफल गर्न लागेको हो । शेखर गगन समूहका एक पदाधिकारीका अनुसार दिउँसो सांसदहरूसँग छलफल गरिने भएपनि समय र स्थान तय भइसकेको छैन ।

कांग्रेसभित्र गुटगत विवादका कारण प्रधानमन्त्री प्रचण्डले शुक्रबार सातौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि पूर्णता दिन सकेका थिएनन् । शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् । अर्थमन्त्रीमा प्रकाशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकासमा सीता गुरुङ नियुक्त भएका छन् ।

देउवाले सोही दिन शेखर कोइरालाको मनसाय बुझेर उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बूलाई पनि मन्त्री बनाउन खोजेका थिए । गुरुङ र लिम्बुलाई मन्त्री बनाउने देउवाको सङ्केत पाएपछि महामन्त्री गगन थापासहितका नेताले ३ मन्त्रालय नलिई सरकारमा जानै नहुने अडान राखे । शेखर–गगन समूहले तीन मन्त्री पाउनुपर्ने अडान राखेर नाम नदिएपछि देउवाले आफू पक्षीय २ जनाको नामको शपथ पनि रोकिदिए ।

प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये कांग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छ  । शेखर–गगन समूहले तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपाउने अडान लिएपछि कांग्रेस सभापति देउवा पनि दबाबमा छन् ।

नेता एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने तयारीमा रहेका देउवाले शेखर–गगन समूहलाई दुई मन्त्री र एक राज्यमन्त्रीको प्रस्ताव गरेको अवस्था छ । शेखर–गगन समूहले देउवाको उक्त प्रस्ताव पनि पनि स्वीकार गरेको छैन । तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपठाउने अडान लिएको शेखर गगन समूहले आजको बैठकबाट समूहगत निर्णय लिने जनाएको छ ।