Breaking

रविविरुद्ध राहदानी मुद्दाको पेसी आज


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी (पासपोर्ट) दुरूपयोग कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता मुद्दाको पेसी आजका लागि तोकिएको छ ।

उक्त मुद्दा सुनुवाइ गर्न न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा मंगलबारका लागि पेसी तोकिए पनि उनको इजलासले हेर्न नमिल्ने भन्दै सुनुवाइ नगरेपछि आजलाई पेसी सरेको हो ।

सुनुवाइ सुरु गर्न लाग्दा सिन्हाले यसअघि संवैधानिक इजलासमा रहेर आफूले रविको मुद्दा हेरेकाले अन्य न्यायाधीशकहाँ पेसी तोक्न आदेश दिएका छन् । मुद्दामा अब आज पुनः गोलाप्रथाद्वारा नयाँ इजलास तोकिएपछि सुनुवाइ अघि बढ्नेरनबढ्ने निश्चित हुनेछ । सिन्धुलीका युवराज पौडैल ‘सफल’ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको थियो ।

रिटमा उत्प्रेषण, परमादेश लगायत जे-जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनी माग गरिएको थियो । रविविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो ।

यसअघि राहदानी दुरुपयोसम्बन्धी मुद्दा प्रहरी र सरकारी वकिल कार्यालयले नचलाउने निर्णय गरेका थिए । मुद्दा नचलाउने निर्णयविरुद्ध सफलले महान्यायाधिवक्ताको कार्यालयलाईसमेत विपक्षी बनाएर रिट हालेका थिए ।

रवि लामिछाने २०७० फागुन ९ मा अमेरिकी नागरिक भएका थिए। अमेरिकी राहदानी रहेका र अमेरिकी नागरिक हुँदा हुँदै नेपाली राहदानी २०७२ जेठ १३ गते लिएका थिए ।

उक्त प्रकरणमा रविलाई कारबाही गरी पाउन मागसहित सफलले गत माघ १७ मा जाहेरी दिएका थिए। लामिछानेले पनि नेपाली नागरिकता लिएको बयानका क्रममा स्वीकार गरेका थिए । नेपालमा दोहोरो नागरिकताको प्रणाली नभएको र विदेशको नागरिकता प्राप्त गरेपश्चात् नेपाली नागरिक कायम नहुने व्याख्या भएको निवेदनमा उल्लेख थियो ।