Breaking

विप्लव पनि कोशी नामकरणको विपक्षमा


काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव ले प्रदेश १ को नाम कोशी राख्ने निर्णय तत्काल सच्याउन माग गरेका छन् ।

जनताको चित्त बुझाउने गरी किरात, राई, लिम्बु सबैलाई मिलाएर सो प्रदेशको नामकरण गर्नुपर्ने उनको जिकिर छ । श्रमिक समुदाय मोर्चा, नेपालले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले भूगोल वा जाति विशेषको आधारमा नभई स्थानीय जनता आफैं समाहित हुने गरी प्रदेशहरुको नाम राख्न उपयुक्त हुने बताए ।

‘किरात प्रदेश राखे के फरक पर्छ रु अझ लिम्बुहरुको पनि (बसोबास) छ त्यहाँ । अझ कोचको पनि छ । त्यो सबैलाई जोडेर कोच, लिम्बु, राई सबैलाई केन्द्रित गरेर एउटा साझा नाम । त्यहाँका जनताहरुलाई चित्त बुझ्दो नाम राखे के फरक पर्छ ?’ उनले प्रश्न गरे ।

जातीय पहिचान नहुने गरी नाम राख्नु शासकहरुको वर्गीय चिन्तन भएको विप्लवले बताए । ‘त्यो त शासक वर्गीय चिन्तन हो । अहिलेसम्म नेपालका शासकहरुले सोच्ने चिन्तन हो त्यो । भूगोल विशेषको कारणबाट हेर्ने वा जाति विशेषको कारणबाट हेर्ने आफैंले ब्याख्या गर्ने दृष्टिकोण गलत हो । त्यहाँ जनता सन्तुष्ट हुुनुपर्दछ’ उनले भने ।