काठमाडौँ — प्रधानमन्त्री प्रचण्डले परिणाममुखी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । केही समय अघि कर्मचारी प्रशासनलाई निर्देशन एपनि प्रभावहिन् बनेकोमा आलोचित प्रधानमन्त्रीले नवनियुक्त मन्त्रीहरुलाई दिएको निर्देशन कति प्रभावकारी होला त ? पछिल्लो आम निर्वाचन पछि आफ्नो पहिलो कार्यकाल सम्हाल्दै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनकै नेतृत्वमा रहेका मन्त्रीहरुबीचको तालमेलमा खास्सै तादम्यता देखिएन । उदाहरणका लागि सरकार छाडिसकेका राजेन्द्र लिङदेनले त्यो बेला मन्त्रीपरिषद बैठकमै फरक मत राखेको, गणतन्त्र विरोधी अभिव्यक्ति दिएको देखि अस्ति भर्खर शिक्षा मन्त्री अशोक राईले समेत सत्ता समीकरण भन्दा बाहिर हुने मनोपरी अभिव्यक्ति दिइरहेका थिए ।
आफ्नो इच्छा विपरित मन्त्रीहरु चलेपछि गठबन्धन नै फेरेर फेरि नयाँ गठबन्धनको सहयोगमा नयाँ मन्त्री मण्डल विस्तार भएको छ । नयाँ मन्त्री मण्डल विस्तारसँगै मन्त्रीहरुको सुरुवाती छनक उस्तै देखिएको छ । कोही मन्त्री प्रदेशमा अर्कै गठन्धन बन्न सक्ने अभिव्यक्ति दिइरहेका छन् भने, कोही १२ औं पटक मन्त्री बनेकोमा स्याम्पेन सेलिब्रसनमा छन् ।
स्याम्पेन सेलिब्रसनपछि फजुल खर्च बेवास्तालाई पहिलो नम्बरमा मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई २० बुँदे कडा लिखित निर्देशन दिएका छन् । निर्देशनलाई दवावको रुपमा नभई उत्प्रेरणाका रुपमा लिँदै ती निर्देशनलाई कार्यान्वयन गर्नु पर्ने माओवादी नेताको तर्क छ ।
त्यसो त प्रधानमन्त्रीले मन्त्रीहरुलाई पटक पटक निर्देशन दिइ नै रहन्छन् । तर, प्रधानमन्त्रीको निर्देशन एका तर्फ र मन्त्रीको कार्य अर्काे तर्फ हुने गरेको छ । पशुपतिमा लटुतन्त्र चल्ने कुरा पर्यटन मन्त्रीलाई ज्ञात नभएको विषय होइन । उनी आफै पशुपतिमा लुटेर खान्छन् भन्ने अभिव्यक्ति दिँदै हिड्छन् । तर, उनकै मातहतमा रहेको विकाश कोषका कर्मचारीलाई कारवाही गर्न भने सकेका छैन् ।
आफ्नै मनमौजी गर्ने मन्त्रीहरुलाई प्रधानमन्त्री प्रचण्डले आफ्नो नियन्त्रणमा लिन खोजेको देखिन्छ । तर, नानी देखि लागेको बानी भन्ने नेपाली उखान जस्तै उही परम्परागत नेताहरु नै मन्त्री बन्दा जति निर्देशन दिए पनि यी मन्त्रीबाट केही आश गर्न नसकिने विज्ञ बताउँछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्मरणीय काम गर्ने इच्छाशक्तिसहित तेस्रो पटक सरकारको नेतृत्व गरिरहेका छन् । तर, सय दिनको अवधी राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख जस्ता पदको भागबण्डामा नै व्यतित हुँदा डेलिभरी दिन्छु भनेका उनी उही पुरानै रोगबाट गुज्रिएका छन् । प्रधानमन्त्री भईसकेपछि सबैभन्दा बढी खादा र मालामा उनको समय व्यतित भइरहेको छ ।
प्रतिक्रिया