Breaking

भारतसँग सीमा विवाद भएका ११ स्थानको नाम चीनले परिवर्तन गर्ने, भारतले ग¥यो अस्विकार


काठमाडौँ — चीन र भारतबीच विवादको विषय बन्दै आएको क्षेत्रका ११ स्थानको नाम परिवर्तनका लागि चीनको नागरिक मन्त्रालयले मञ्जुरी दिएको छ । सो क्षेत्रलाई भारतले आफ्नो पूर्वोत्तर राज्य अरुणाचल प्रदेशको हिस्सा मान्दै आएको छ भने चीनले पनि सो भूभाग आफ्नो रहेको दाबी गर्दै आएको छ । विवाददै विवादले झेलिएको चीन भारतको सम्वन्ध अझै चिसिने सम्भावना बढेको छ । भारत र चीनको सिमानामा रहेको अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर जमिनमाथि चीनले आफ्नो दाबी गर्दै चीनको नागरिक मामलासम्बन्धी मन्त्रालयले ११ स्थानको नाम चिनियाँ तिब्बती र पिनयिन भाषामा राख्न अनुमति दिएको छ । चिनियाँ मन्त्रिपरिषदको स्टेट काउन्सिलको नियमअनुसार ती नाम परिवर्तन गरिएको हो ।

दक्षिण पश्चिमी चीनको शिजाङ्ग स्वायत्त क्षेत्रका ती स्थानको नाम परिवर्तन गरिएको चिनियाँको दाबी छ । तर चीनको उक्त कदमलाई भारतले प्रतिवाद गरेको छ । चीन सरकारले ती स्थानका बारेमा सटिक भौगोलिक जानकारी दिँदै नाम परिवर्तनको घोषणा गरेको थियो । तीमध्ये दुई आवासीय क्षेत्र छन् भने पाँच पर्वत शिखर दुई नदी र दुई अन्य क्षेत्र छन् । चीनले विवादित क्षेत्रमा यसरी तेस्रो पटक नाम परिवर्तन गरेको भारतीय पक्षको दाबी छ । भारतीय पक्षका अनुसार चीनले पहिलो पटक सन् २०१७ मा ६ स्थानको नाम परिवर्तन गरेको थियो भने सन् २०२१ मा २१ स्थानको नाम परिवर्तन गरेको थियो ।

चीनले सन् १९६२ मा भारतसँगको युद्धमा अरुणाचल प्रदेशको आधाभन्दा बढी हिस्सामा कब्जा जमाएको थियो । यसपछि चीनले एकतर्फी रुपमा युद्धविराम घोषणा गरेको थियो र उसका सेना म्याकमोहन रेखाभन्दा पछाडि फर्किएका थिए । सन् १९१४ अघि तिब्बत र भारतबिच कुनै सीमारेखा थिएन । त्यतिबेला भारतमा ब्रिटिशले शासन गर्दथे । सीमा निर्धारणका लागि भारत र तिब्बतका सरकारबिच शिमला सम्झौता भएको थियो । सो सम्झौतामा ब्रिटिश शासनका प्रशासक सर हेनरी म्याकमोहन र तत्कालीन तिब्बत सरकारका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।

भारतमा ब्रिटिश शासकले म्याकमोहन लाइनलाई दशाउँदै पहिलो पटक सन् १९३८ मा मानचित्र प्रकाशित गरेको थियो । पूर्वोत्तर सीमान्त प्रान्त सन् १९५४ मा अस्तित्वमा आयो । सोही क्रममा भारतको तवाङ्गसहित पूर्वोत्तर सीमान्त क्षेत्र र बाहिरी तिब्बतको बिच सीमा मान्न थालियो । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि चीनले तिब्बतमाथि आफ्नो अधिकार रहेको भन्दै तिब्बतको तत्कालीन सरकारका प्रतिनिधिले हस्ताक्षर गरेको शिमला सम्झौता मान्न अस्वीकार ग¥यो । चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको क्षेत्र मान्दै आएको छ । सो क्षेत्रमा चीनले तिब्बती धर्म गुरु दलाई लामादेखि लिएर भारतको प्रधानमन्त्रीको भ्रमणमा समेत आपत्ति जनाउँदै आएको छ । यो घटनाले चीन र भारतबीचको दुरीलाई थप टाढा बनाएको छ ।