Breaking

रविको राहदानी प्रकरण : सुनुवाइ न्यायाधीश सिन्हाको इजलासमा


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्धको रिटउपर आज न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा प्रारम्भिक सुनुवाइ हुँदै छ । उक्त रिट पेसी सूचीको नौ नम्बरमा छ ।

अधिवक्ता युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको भन्दै पौडेलले रिट हालेका हुन् ।

यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो । त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।

सोमबार दायर रिटमा लामिछानेले अमेरिकी नागरिक हुँदाहुँदै नेपाली राहदानी प्राप्त गरी कसुर गरेको जिकिर गरिएको छ । यसअघि, सांसद पदको योग्यतासम्बन्धी रिटमा लामिछानेले आफूले अमेरिकी नागरिक रहँदै नेपाली राहदानी प्राप्त गरेको स्वीकार गरेका थिए ।

राहदानी प्राप्त गर्दा उनले आफू नेपाली नागरिक नै रहेको विवरण पेस गरेका थिए । सो कार्य राहदानी ऐन, २०७६ र साविक राहदानी ऐन, २०२४ बमोजिम कसुर ठहर्ने भन्दै उनीविरुद्ध मुद्दा चलाउन माग गरिएको हो ।

पौडेलले यसअघि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट दायर गरेका थिए । सर्वोच्चको संवैधानिक इजलासले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नभएको भन्दै उनको सांसद पद खारेज गरेको थियो ।