Breaking

महानरपालिकाको सबै सेवा वैशाखदेखि एकै स्थानबाट


काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी वैशाख १ गतेदेखि एकै स्थानबाट नागरिकलाई सबै सेवा दिने तयारी गरेको छ ।

सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडौँ प्लाजामा सर्न लागेको हो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौँ प्लाजामा सर्न कामपा र ट्रष्टबीच यही चैत ८ गते सम्झौता भएको थियो ।

प्रशासनसँगै क्रमशः कामपाको मिसिल शाखा, सहकारी विभाग, जिल्ला समन्वय समितिमा रहेका विभाग काठमाडौँ प्लाजामा सार्ने तयारी छ । सम्झौताबमोजिम झ्याल, ढोका र लिफ्टसहित बिग्रिएका र भत्किएका संरचना बहाल रकमबाट कटाउने गरी कामपाले मर्मत गर्नेछ । प्रत्येक पाँच वर्षमा १० प्रतिशतले बहाल वृद्धि गर्ने गरी १० वर्षका लागि सम्झौता भएको छ ।

पाँच रोपनी दुई पैसा क्षेत्रफलमा निर्माण भएको साततले भवनको तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र दुई सय दुईपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिन्छ । अहिले कामपाको १४ विभागीय र ५८ महाशाखाले भाडाकै घरबाट विभिन्न १० स्थानबाट सेवा दिइरहेका छन् ।

०७२ को भूकम्पअघि कामपाको सबै सेवा ऐतिहासिक बागदरबारबाट प्रवाह भइरहेको थियो। हाल सुन्धारामा रहेको जेडिए कम्प्लेक्समा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, वित्त, प्रशासन, कानून तथा मानव अधिकार, आन्तरिक लेखापरीक्षण एकाइ, खरिद एकाइ छन् ।

राजस्व, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभाग बबरमहलमा छन् । सहकारी विभाग बिजुली बजार र सहरी योजना आयोगको कार्यालय थापाथलीमा छ । टेकुमा उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना, वातावरण व्यवस्थापन विभाग, जग्गा एकीकरण आयोजनाका कार्यालय र मिसिल शाखा छन् । कृषि तथा पशुपक्षी विभाग र शिक्षा विभाग ताहाचलमा छ ।