समाचार

खुम्बु क्षेत्रमा अष्ट्रेलियाली नागरिकको मृत्यु


काठमाडौँ — सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक अष्ट्रेलियाली नागरिकको मृत्यु भएको छ ।

जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–२ रातमाटेमा सोमबार अष्ट्रेलियाली नागरिक ६३ वर्षीय​ भ्यालेन्स फिलिप्स थोमसको निधन भएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।

कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक पूर्ण दाहालका अनुसार आइतबार रामेछापको मन्थलीबाट लुक्ला विमानस्थल ओर्लिएका थोमस त्यहाँबाट सङ्खुवासभा जाने कार्यतालिका थियो । हिँड्दै गर्दा एक्कासि उकालो बाटोमा ढलेका उनको उपचारको क्रममा मृत्यु भएको दाहालले जानकारी दिए ।

थोमससहित तीन अष्ट्रेलियाली नागरिक नेपाली पथप्रदर्शक योग्यबहादुुर कार्कीको नेतृत्वमा लुक्लाबाट मेरा पिक हुँदै सङ्खुवासभाको तुम्लिङटारतर्फ अघि बढेका थिए । उनको शव आज हेलिकप्टरमार्फत पोष्टमार्टमका लागि काठमाडौँ लैजाने तयारी रहेको प्रहरीले जनाएको छ ।