Breaking

केही अनौठो लागेको छ तर आशावादी छु : रवि लामिछाने


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट उत्साहित र आशावादी रहेको बताएका छन् ।

चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि आज बिहान उम्मेदवारी दर्ता गराएपछि उनले विगतमा पनि यही प्रक्रियाबाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो लागे पनि आफू आशावादी रहेको बताए ।

मतान्तर कति होला भन्ने प्रश्नमा उनले त्यो निर्वाचनपछि मात्र थाहा हुने बताए । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा रवि चितवन २ बाट निर्वाचित भएका थिए तर नागरिकता सम्बन्धी विवादका कारण सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो । त्यसैले आगामी बैशाख १० गते यहाँ उपनिर्वाचन हुन लागेको हो ।

चितवन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।