Breaking

मनोनयनका लागि हौसियो रास्वपा, रवि पुगे चितवन, स्वर्णिम र रमेश उम्मेदवारी दर्ताको तयारीमा


काठमाडौँ– उपनिर्वाचनका लागि सबै शीर्ष दलले आफ्ना उम्मेदवार टुंगो लगाएका छन् । सत्तामा सामेल दलले साझा उम्मेदवारलाई उठाउँदा सरकारलाई विश्वासको मत दिएका पार्टी र एमालेले आ–आफ्नै उम्मेदवार खडा गरेका छन् । चितवन २, तनहुँ १ र बारा २ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० मा उपनिर्वाचन हुने भएपछि ती क्षेत्रमा प्रमुख राजनीतिक दलले उम्मेदवार बनाउने टुंगो लगाईसकेको छ । बारा २ मा बाहेक अन्य दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताको अघिल्लो दिनै उम्मेदवारको टुंगो लागिसकेको हो ।

मंसिर ४ गते भएको निर्वाचनमा चितवन १ मा गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई भारी मतान्तरले पराजित गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपनिर्वाचनमा पनि सोही क्षेत्रबाट चुनावी प्रतिष्पर्धा गर्दै छन् । लामिछानेलाई टक्कर दिन गठबन्धनबाट कांग्रेसका जितनाराण श्रेष्ठ मैदानमा उत्रिएका छन् भने नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउदा राप्रपाले जीवलाल पुरीलाई उठाएको छ । र अघिल्लो पटक भारी मतान्तरले विजयी प्राप्त गरेका रवि लामिछानेले आफ्नो जीत सुनिश्चित रहेको दावी गरेका छन् ।

यसअघिको चुनावमा नेपाली कांग्रेसको सांसदको हैसियतमा सदन प्रवेश गराएर देशलाई राष्ट्रपति दिएको तनुहँ १ मा पनि शीर्ष दलले आफ्ना उम्मेदवारको टुंगो लगाईसकेका छन् । सरकारमा सामेल रहेका दलहरु बीचको गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई सदन छिर्ने कसरत गरेका छन् । त्यस्तै एमालेले अघिल्लो चुनावमा काठमाडौँ ६ बाट पराजित भएका पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई उपनिर्वाचनको टिकट थमाइदिएको छ । त्यस्तै अर्थविद् तथा लामो समय कांग्रेसमा क्रियाशिल डा.स्वर्णिम वाग्लेलाई रास्वपाले चुनावी मैदानमा उतारेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले शोभा गुरुङलाई उपनिर्वाचनका लागि चयन गरेको छ ।

उपराष्ट्रपतिका कारण खाली भएको बारा २ को उपनिर्वाचनका लागि पनि सरकारमा मन्त्री बनेका पार्टीहरुबीच मात्रै गठबन्धन भएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएका रास्वपा र जनमतले आ–आफ्नै छुट्टाछुट्टै उम्मेदावर खडा गरेका छन् । सत्ता गठबन्धनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई साझा उम्मेदवार बनाउँदा रास्वपाले पूर्वप्रहरी रमेश खरेल र जनमतले शिवचन्द्र कुशवाहलाई मैदानमा उतारेको छ । बारा २ को रोचक तथ्य के छ भने त्यहाबाट अघिल्लो चुनावमा पराजित मध्य एक उम्मेदवारले संसद प्रवेशको ढोका खोल्ने लगभग निश्चित छ । किनकी सप्तरी २ बाट जनतमतका अध्यक्ष सीके राउतसँग हारेका यादव, यसै क्षेत्रबाट पराजित भएका कुशवाह र काठमाडौँ १ का मतदाताले नपत्याएका खरेल पुनः चुनाव लड्न बारा झरेका छन् । उनीहरु मध्य नै जीतको प्रमुख दावेदार हुने निश्चित छ ।

राप्रपाले सोनेलाल साहलाई उम्मेदवार बनाउँदा एमालेले उम्मेदवार तयार गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई नै दिएको छ । एमाले, रास्वपा र राप्रपाले तीनै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा माओवादी केन्द्र र एकीकृत समाजवादी भने उपनिर्वाचनमा उम्मेदवारविहिन् भएको छ । जबकी हाल जनतमका उम्मेदवार रहेका कुशवाह तत्कालिन गठबन्धनको साझा उम्मेदावर बन्दै माओवादीबाट लडेका थिए र उनी जम्मा ३५४ मतले पराजित भएका थिए । सिमित तीन स्थानमा मात्रै उपचुनाव हुन लागेकाले पनि सिंगै देशको ध्यान यी तीन निर्वाचन क्षेत्र र उम्मेदवारतर्फ केन्द्रीत बनेको छ ।