Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

शेर्पा चलचित्र संघले आयोजना गरेको पटकथा लेखन प्रशिक्षण सम्पन्न

'भाषा, कला, संस्कृति जगेर्ना गर्ने मूख्य उद्देश्य'


काठमाडौँ – शेर्पा चलचित्र संघ नेपालले आयोजना गरेको ७ दिने पटकथा लेखन प्रशिक्षण सम्पन्न भएको छ ।

चलचित्र विकास बोर्डको सहयोगमा शेर्पा चलचित्र संघ नेपालले आयोजना गरेको पटकथा लेखन प्रशिक्षण महावाणिज्यदुत तथा सफल पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम आयोजना गरेर सम्पन्न गरिएको संस्थाका महासचिव छिरिङ शेर्पाले जानकारी दिनुभयो ।

कार्यक्रममा ७ दिने प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण तथा प्रशिक्षक शिव मुखियालाई सम्मान गरिएको थियो । पटकथा लेखन प्रशिक्षणमा २३ जना प्रशिक्षार्थी सहभागी रहेको संस्थाका सचिव शेर्पाले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि महावाणिज्यदुत आङ छिरिङ शेर्पाले चलचित्र समाजको प्रतिबिम्ब भएको बताउँदै सांस्कृतिक संरक्षणमा मद्दत पुर्‍याउने बताउनुभयो । उहाँले चलचित्रको माध्यमबाट भाषा, कला, संस्कृतिको जगेर्ना मात्र नभएर जलवायु परिवर्तनका कारण सेता हिमालहरू कालो पहाडको रूपमा परिवर्तन भएको बारे चलचित्र निर्माण गरेर विश्वलाई सुसूचित गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । शेर्पाले विकास, परिवर्तन र जनचेतना फैलाउनका लागि चलचित्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले यस विधालाई सबै क्षेत्रले उत्तिकै महत्वको साथ हेर्नुपर्ने बताउनुभयो ।

शेर्पा चलचित्र संघ नेपालका अध्यक्ष छोङबा शेर्पा (रिन्छेन्) ले चलचित्र निर्माणमा भन्दा पनि यस क्षेत्रमा लाग्न चाहनेहरूलाई प्रोत्साहन र सहयोग गर्ने उद्देश्यले शेर्पा चलचित्र संघ स्थापना भएको बताउनुभयो । उहाँले शेर्पा चलचित्र संघले शेर्पा समुदायको भाषा, कला, संस्कृतिलाई जगेर्ना गर्न चलचित्र र पटकथा निर्माण गर्न सके युवापुस्ताका लागि भाषा, कला, संस्कृति देखाउन र बुझाउन सहज हुने जोड दिनुभयो ।

कार्यक्रममा वरिष्ठ निर्देशक नबिन सुब्बाले नेपाली फिल्मलाई प्राज्ञिक पहिचान दिलाउन यस्ता प्रशिक्षण र कार्यशालाले सहयोग पुर्‍याउने बताउनु भयो । उहाँले नेपाली फिल्ममा आदिवासी समुदायको अनुहारले स्थान पाउँन थालेको भन्दै यस क्षेत्रमा लगनशील र धैर्य आवश्यक पर्ने बताउनुभयो । उहाँ शेर्पा समुदायको पहिलो फिल्म खाङरीका निर्देशकसमेत हुनुहुन्छ । शेर्पा भाषामा खाङरी, कुसुम र टिन्छेन फामा चलचित्र निर्माण गरिएको छ ।